बहुपम्पिङ खानेपानी विद्युत महसुल तिर्न नसक्दा बन्द हुने अवस्थामा, कार्यविधि नहुँदा विनियोजित बजेट खर्च हुन सकेन

  वास खबर सम्बाददाता  331 पटक हेरिएको

प्रतिनिधिमूलक फोटो

काठमाडौ : बहुपम्पिङ खानेपानी आयोजनाहरुमा खपत हुने विद्युत महसुल तिर्न नसक्दा बहुपम्पिङ खानेपानी आयोजनाहरु बन्द हुने अवस्थामा पुगेका छन्। बहुपम्पिङ खानेपानी आयोजनामा खपत हुने विद्युत महसुल खानेपानीको महसुलबाट आपूर्ति हुन नसक्दा त्यस्ता प्रकृतिका खानेपानी आयोजनाहरु बन्द हुने अवस्थामा पुगेका हुन्।

सरकारले सुख्खाग्रस्त क्षेत्रमा सञ्चालित बहुपम्पिङ खानेपानी आयोजनाहरुको विद्युत महसुल अनुदानका लागि चालु आर्थिक बर्ष २०८०/०८१ का लागि २ करोड बिनियोजन गरेको छ । मन्त्रालयगत बजेट सूचना प्रणालीमा बहुपम्पिङ खानेपानी आयोजनाहरुको विद्युत महसुल अनुदान शीर्षकमा बजेट भए पनि आवश्यक कार्यविधिको अभावमा खर्च हुन सकेको छैन ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले यसको कार्यविधि तयार गरी खानेपानी मन्त्रालयमा स्वीकृतिको लागि पठाईसकेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वास खबरको कार्यक्रम ‘वास संवाद’ मा उहाँले भन्नुभयो ‘जलवायु परिवर्तन र अन्य विविध कारणले गर्दा पानीका स्रोतहरु सुक्ने र डाँडामा भएको बस्ती सम्म खोलाबाट पानी लिफ्ट गरेर पुर्‍याउनु पर्दा विद्युत महसुल बढी लाग्ने भएकाले विद्युत महसुलमा अनुदान वा सहुलियतको व्यवस्था लिफ्टििङ खानेपानी आयोजनामा विद्युत महसुल छुट सम्बन्धी कार्यविधिको ड्राफ्ट तयार गरी मन्त्रालयमा पठाईसकेका छौं’ उहाँले भन्नुभयो ।

एकातिर खानेपानी उपभोक्ता समितिले विद्युत महसुल तिर्न नसक्दा खानेपानी सेवाबाटै बञ्चित हुनुपर्ने र अर्को तर्फ सरकारले यसैका लागि विनियोजन गरेको बजेट समेत थन्केर बसिरहेको अवस्था छ । यो अवस्थाबाट मुक्ति दिलाउन लिफ्टििङ खानेपानी आयोजनामा विद्युत महसुल छुट सम्बन्धी कार्यविधि तत्काल स्वीकृत गर्नुपर्ने देखिन्छ ।

खानेपानी मन्त्रालयले यो कार्यविधि स्वीकृति गर्न जत्ति धेरै समय लगायो, ग्रामीण भेगका नागरिक त्यत्ति नै धेरै मारमा पर्नेछन् । यस तर्फ खानेपानीमन्त्रीको विशेष ध्यान जान जरुरी रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) का अध्यक्ष राजेन्द्र अर्यालले बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार