
राजबिराज : तराईका केही जिल्लाका केही बस्तीहरु ठूलो बर्षा हुनासाथ डुबानमा पर्छन् । यही १८ र १९ गतेको बर्षा सँगै आएको बाढीले विराटनगरका केही ठाउँहरु र रौतहटका राजपुर नगरपालिका क्षेत्रका विभिन्न बस्तीहरु डुबानमा परे ।
डुबानको समयमा खानेपानीको कल समेत डुब्दा बाढीकै फोहोरपानी पिउनुपर्ने बाध्यता छ । तर डुबानको समयमा समेत नडुब्ने उच्च कल निर्माण गर्न सके बाढी र डुबानको समयमा पनि स्वच्छ पानी वितरण गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ, सप्तरीको तिलाठी कोइलाडीमा निर्माण गरिएको उच्च कलले । यो कल युनिसेफ नेपालले केही बर्ष पहिले नै त्यहाँ डुबान भएको बेला निर्माण गरेको हो ।
हेर्नुहोस् यो भिडियो :
यो कल तीन चार फिटको डुबानले केही असर नपार्ने तरिकाले बनाएको छ । कलसम्म जानका लागि रेलिङको व्यवस्था गरिएको छ । कलसम्म पुगेर बुढाबुढी, बृद्धबृद्धा जो कोहीले पनि पानी तानेर सहजै ल्याउन सक्छन् ।
अन्य ट्युवेल जस्तो कम गहिराईबाट नतानी बढी गहिराईबाट पानी तानेकाले पानीमा रासायनिक प्रदुषण समेत नभएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलले बताउनुभयो। उहाँका अनुसार गाउँमा भएका हाते पम्पको पानीमा आर्सेनिक, आइरन जस्ता प्रदुषण भेटिए पनि यो उच्च कलको पानीमा त्यस्तो कुनै प्रदुषण भेटिएको छैन।
उक्त कल अहिलेसम्म पनि प्रयोग भैरहेको छ । डुबानको समयमा मात्र नभई अन्य समयमा समेत यो कलबाट खानेपानी उपभोग गर्ने गरिएको गाउँपालिका अध्यक्ष मण्डलले बताउनुभयो। उहाँले यस्तो उच्च कल निर्माणका लागि गाउँपालिकाले समेत बजेट विनियोजन गरिएको बताउनुभयो। डुबान हुने अन्य क्षेत्रमा पनि यस्तै कल बनाउने हो कि ?



312 पटक हेरिएको 

