
वीरेन्द्रनगर : जाजरकोटको नलगाड नगरपालिकामा ६ वटा खानेपानी तथा सरसफाइ आयोजना निर्माण भैरहेको छ । नलगाड नगरपालिकाको सहकार्यमा सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाले नगरपालिका भित्रका विभिन्न वडामा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिरहेको नगरप्रमुख डम्बर रावतले जानकारी दिनुभयो।
नगरपालिकाका वास संयोजक चन्द्रबहादुर पुनका अनुसार आर्थिक वर्ष २०८२/०८३ वर्षमा ६ वटा ठूला आयोजना तथा साना खानेपानीका योजना मर्मतको काम भइरहेको छ ।

निर्माणाधीन आयोजनाहरु
१. नलगाड नगरपालिका–७ दल्ली स्थित दल्ली खोनपानी तथा सरसफाइ योजना
२. नलगाड नगरपालिका–३ मा तुसारे खानेपानी तथा सरसफाइ योजना
३. वडा–८ मा कायाखेत खानेपानी योजना
४. वडा–५ मा खन्टाकुरा खानेपानी तथा सरसफाइ योजना
५. नलगाड–१ पालिमा धारेखोला खानेपानी तथा सरसफाई आयोजना
६. र नलगाड–१३ मा भौजा खानेपानी तथा सरसफाइ योजना
पालिका भित्रमा खानेपानीको समस्या हल गर्नका लागि यी ठाउँमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर परियारले जानकारी दिनुभयो। यी खानेपानीका योजनाबाट सयौं स्थानीयले शुद्ध पिउने पानी उपभोग गर्न पाउने उहाँले बताउनुभयो।
सुस्वा र पालिकाकै समन्वयमा आर्थिक वर्ष २०८१/०८२ नलगाड–३ मा सागबारी खानेपानी योजना, वडा–७ मा सालधारा खानेपानी योजना सम्पन्न भइसकेको छ । त्यस्तै तपोभूमि माध्यमिक विद्यालय, दलित प्राथमिक विद्यालयमा सरसफाइका काम सम्पन्न भएका छन् । वास्तविक समस्यालाई मध्यनजर गर्दै समाधान गर्नका लागि यी काम भएको नगर प्रमुख रावतले बताउनुभयो।
त्यसैगरी नलगाड–१२ तल्लुमा टिमुरेखोला तल्लुबगर खानेपानी योजना निर्माण भएको छ । पालिकाको सहकार्यमा विकास साझेदार निकायको सहयोगमा सिमा तल्लुबगर खानेपानी निर्माण भएको छ । करिव १ करोड लगानीमा यी दुई योजना निर्माण भएको उपभोक्ता समितिका सचिव पृथ्वीबहादुर बस्नेतले बताउनुभयो।
नलगाड नगरपालिका भरी शुद्ध तथा सुरक्षित पानी पिउनका लागि नगरपालिकाले निश्चित कार्य योजना बनाएर काम भइरहेको नगर उपप्रमुख देवका लामिछानेले बताउनुभयो । सुस्वाले कर्णालीका २८ वटा पालिकामा काम गरिरहेको छ । राम्रो काम गरेर उत्कृष्ट नतिजा ल्याउने पालिकामा सुस्वाले २० प्रतिशत बजेट थप पाउने व्यवस्था रहेको बताएको छ ।
कर्णाली भरी १३५ वटा खानेपानीका योजना र ५८ वटा शौचालय निर्माण हुन लागेको सुस्वाका सुशासन विज्ञ निराजन श्रेष्ठले जानकारी दिनुभयो। कर्णालीका २८ पालिकामा खानेपानीको समस्या समाधान गर्न आफूहरु लागि परेको उहाँको भनाइ छ । त्यस्तै नलगाड नगरपालिकामा सुस्वाले वार्षिक कार्य सम्पादन मूल्यांकन नतिजा समेत सम्पन्न गरेको छ ।
सबै पालिकामा यो मूल्यांकनको काम हुँदै आएको छ । राम्रो काम गरेकालाई पुरस्कृत तथा सुधार गर्नुपर्ने ठाउँमा सुझाव दिने काम भएको सुशासन विज्ञ श्रेष्ठले बताउनुभयो।


337 पटक हेरिएको 

