
गुल्मी : गुल्मीको गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि ३२७ घरधुरीमा सुरक्षित खानेपानी सेवा पुगेको छ । रहखोला देवीस्थान सोलार लिफ्टिङ खानेपानी आयोजनामार्फत लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीय बासिन्दाले नियमित पानी पाउन थालेका हुन् ।
जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै नवीकरणीय ऊर्जाको प्रयोगमार्फत खानेपानी पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त आयोजना सात वटा निकायको आर्थिक सहयोग र ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५५ लाख ३३ हजार रुपैयाँ, ग्रामीण प्रविधि केन्द्र यूएनडीपी/जीईएफ–एसजीपीबाट २९ लाख ६१ हजार रुपैयाँ, गुल्मी दरबार गाउँपालिकाबाट २२ लाख रुपैयाँ, वाइन टु वाटर नेपालबाट ५५ लाख ६२ हजार रुपैयाँ तथा रहखोला खानेपानी उपभोक्ताबाट २४ लाख रुपैयाँ बराबरको श्रमदान गरी कुल एक करोड ९७ लाख ५७ हजार रुपैयाँको लागतमा आयोजना सम्पन्न गरिएको हो ।
आयोजनाको उद्घाटन लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै मन्त्री कार्कीले बहुपक्षीय सहकार्यबाट आयोजना सफल भएको उल्लेख गर्दै यसको सेवा अब निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । “पहिले यहाँ खानेपानीको ठूलो समस्या थियो, सोलार ऊर्जामा आधारित लिफ्ट प्रणाली सञ्चालनमा आएपछि अब खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान भएको छ,” उहाँले भन्नुभयो ।
गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज थापाका अनुसार स्थानीय सरकारले एक्लै गर्न नसक्ने पूर्वाधार विकासका काम दातृ निकाय र विकास साझेदारको सहयोगमा सम्भव भएको हो । “जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गर्दै जलवायु परिवर्तन उत्थानशीलता र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यसहित यो आयोजना सञ्चालन गरिएको हो,” अध्यक्ष थापाले भन्नुभयो ।
सोलार ऊर्जामा आधारित लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि बलिथुमका अधिकांश घरधुरीमा सुरक्षित र दिगो खानेपानी सेवा विस्तार भएको छ, जसले स्थानीयको जीवनस्तर सुधारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।


322 पटक हेरिएको 

