बाढीले अवरुद्ध बैरेनी बजारको खानेपानी सेवा पुनःसञ्चालन, ५५० भन्दा बढी लाभान्वित

  वास खबर सम्बाददाता  318 पटक हेरिएको
🔗
628
Shares

धादिङ : बाढीका कारण अवरुद्ध भएको गल्छी गाउँपालिका–६ स्थित बैरेनी बजारको खानेपानी सेवा पुनःसञ्चालनमा आएको छ। बाढीले त्रिशूली नदीको क्रसिङ बगाएपछि अवरुद्ध भएको खानेपानी आपूर्ति प्रणालीको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन, युनिसेफ नेपाल र शान्ति नेपालको संयुक्त प्रयासबाट आपत्कालीन पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो।

२०८३ भदौ १० गते आएको बाढीका कारण जुगे खोला मुहानबाट बैरेनी बजारमा खानेपानी आपूर्ति हुँदै आएको पाइपलाइनको त्रिशूली नदी क्रसिङ बगाएको थियो। त्यसपछि बैरेनी बजारमा खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको थियो।

खानेपानी सेवा तत्काल पुनःसञ्चालन गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनले ९० मि.मि., ७५ मि.मि. र ६३ मि.मि. व्यासका १ हजार ७ सय मिटरभन्दा बढी एचडीपीई पाइप उपलब्ध गराइएको थियो। उक्त पाइप त्रिशूली पुल मार्फत नदी पार गराई क्षतिग्रस्त पाइपलाइन पुनःस्थापना गरिएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनका प्रमुख शेखर चन्द्र केसीले बताउनुभयो।

बाढीका कारण पानी लिफ्टिङ गर्ने तल्लो ट्याङ्की बालुवा तथा माटोले पूर्णरूपमा पुरिएपछि वैकल्पिक व्यवस्था मार्फत खानेपानी सेवा सञ्चालन गरिएको छ। हाल दुईवटा पोलिथिन ट्याङ्कीमा २ एचपी क्षमताका समर्सिबल पम्प जडान गरी पानी लिफ्ट गरेर पुरानै वितरण प्रणाली मार्फत उपभोक्तालाई पानी उपलब्ध गराइएको छ।

हाल उक्त प्रणालीबाट करिब २०० घरधुरीमा खानेपानी आपूर्ति भइरहेको छ। प्रति सेकेण्ड करिब १.५ देखि २ लिटर पानी लिफ्ट गरी वितरण गर्न सकिएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनले जनाएको छ।

 कार्यालय प्रमुख चन्द्र केसीका अनुसार बाढीबाट क्षतिग्रस्त संरचनाको तत्काल पुनःस्थापना गरी बैरेनी बजारमा खानेपानी सेवा सञ्चालनमा ल्याइएको हो।

उहाँले भन्नुभयो “बाढीले पाइपलाइनको नदी क्रसिङ बगाएपछि बैरेनी बजारमा खानेपानीको समस्या उत्पन्न भएको थियो। आपत्कालीन व्यवस्थापन अन्तर्गत नयाँ पाइपलाइन पुनःस्थापना गरी वैकल्पिक ट्याङ्की र पम्पको माध्यमबाट खानेपानी सेवा सञ्चालनमा ल्याएका छौँ।”

पुनःस्थापित खानेपानी प्रणालीबाट गल्छी गाउँपालिका–६ स्थित नेपाली सेनाको बाहिनीमा समेत खानेपानी आपूर्ति पुनःसञ्चालन भएको छ। यसबाट बाहिनीमा कार्यरत ३५० भन्दा बढी नेपाली सैनिक लाभान्वित भएको जनाइएको छ।

यसैबीच युनिसेफ नेपाल र शान्ति नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाली सेनाको क्याम्प परिसरमा रहेका पोलिथिन ट्याङ्की तथा पम्प सञ्चालनका लागि मोबाइलबाटै पम्प ‘अन’ तथा ‘अफ’ गर्न सकिने अटोमेसन प्रणाली समेत जडान गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार