काठमाडौं : प्रधानमन्त्री कार्यालयको एप्स सफ्टवेयर मार्फत लिएको परीक्षामा सबैभन्दा कम नम्बर खानेपानीमन्त्री बीना मगरले प्राप्त गर्नुभएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पादन गरेको कार्यलार्ई मुल्यांकन गर्दा ‘अनुत्तीर्ण’ भएका १२ मन्त्रीहरु मध्ये सबैभन्दा कम खानेपानीमन्त्रीले ल्याउनुभएको हो । उहाँले मात्र ६.१९ नम्बर प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एप्सले गत साउनमा पेश गरेको कार्ययोजना र ६ महिनाको अवधिमा सम्पादन भएको कामको विश्लेषण गरी अंक प्रदान गरेको हो ।
खानेपानी मन्त्रालयले प्रधानमन्त्री समक्ष एक सय १३ वटा वार्षिक कार्ययोजना प्रस्तुत गरेको थियो । जसमध्ये हालसम्म ६ दशमलव १९ प्रतिशत काम पूरा भएको छ ।
उत्तीर्णका लागि ३२ प्रतिशत काम गर्नु पर्ने तोकिएको भएपनि एउटा मात्र मन्त्रालयले ६० प्रतिशत काम सम्पन्न गर्न सफल भएको छ ।
प्रधानमन्त्रीसहित १२ जना मन्त्री फेल भएका छन् । बिगत ६ महिनाको कार्यावधिलाई लिएर गरिएको २१ मन्त्रालयको परीक्षामा ९ मन्त्री मात्रै पास भएका छन् ।
प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले गरेको अनुगमनमा ६ महिनाको अवधिमा एउटा मात्र मन्त्रालय प्रथम श्रेणीमा ‘उत्तीर्ण’ भएको छ । त्यो हो परराष्ट मन्त्रालय । उसले समीक्षा अवधिमा ६० प्रतिशत काम पूरा गरेको छ । परराष्ट्रले ५१ वटा कार्ययोजना पेश गरेको मध्ये ६० प्रतिशत पूरा गरेको उल्लेख छ । त्यस्तै द्वितीय श्रेणीमा उत्तीर्ण हुने मन्त्रालयको संख्या तीन मात्रै छ । ३२ प्रतिशत काम पूरा गरेर उत्तीर्ण हुने मन्त्रालयको संख्या सात वटा छन् । बाँकी १२ वटा मन्त्रालय फेल भएका छन् ।
अर्थ मन्त्रालयले सबैभन्दा बढी कार्ययोजना पेश गरेको थियो । उसले एक सय ८६ वटा कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गरेकोमा ५२ प्रतिशत काम सम्पन्न गरेको छ । त्यस्तै गृहले वार्षिक ५४ वटा कार्ययोजना प्रस्तुत गरेकोमा ५१ दशमलव ८५ प्रतिशत सम्पन्न गरेको छ भने रक्षा मन्त्रालयले सबैभन्दा कम नौ वटा मात्र कार्ययोजना प्रस्तुत गरेको थियो । जसमध्ये ५५ दशमलव ५५ प्रतिशत काम पूरा भएको विवरणमा उल्लेख छ ।
उद्योग मन्त्रालयले ३४ दशमलव ३४ प्रतिशत काम पूरा भएको विवरणमा उल्लेख छ । त्यस्तै कृषि मन्त्रालयले वार्षिक ७८ वटा कार्ययोजना पूरा गर्न लक्ष्य प्रस्तुत गरेकोमा ३७ दशमलव १७ प्रतिशत काम सम्पन्न गरेको छ भने वनले एक सय ४४ वटा वार्षिक कार्ययोजना ल्याएकोमा ३८ दशमलव ८५ मात्र पूरा गरेको छ । महिला बालबालिकासँग २८ वटा वार्षिक कार्ययोजना रहेको थिए । जसमा ३९ दशमलव २८ प्रतिशत पूरा भइसकेको जनाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग एक सय ३१ वटा वार्षिक कार्ययोजना पेश गरिएकोमा हालसम्म १३ दशमलव ७४ प्रतिशत काम मात्र पूरा गर्न सकेको छ । प्रधानमन्त्री कार्यालय समेत अनुत्तीर्ण भएको छ ।
कार्यालयसँग वार्षिक ८४ वटा कार्ययोजना रहेको मध्ये हालसम्म १४ दशमलव २८ प्रतिशत काम पूरा भएको छ । त्यस्तै अनुत्तीर्ण हुने मन्त्रालयको सूचीमा कानुन, शिक्षा, सञ्चार, खेलकुद, शहरी विकास, भूमि तथा सहकारी, उर्जा तथा जलश्रोत र भौतिक पूर्वाधार मन्त्रालय छन् ।
प्रधानमन्त्री कार्यालयमा जडान गरिएको एप्सले कामको प्रतिशत अनुसार, चिह्न देखाउँछ । ८० प्रतिशत बढी काम पूरा गरेका मन्त्रालयलाई हरियो चिन्ह देखाउँछ भने ८० प्रतिशतसम्म काम गरेकालाई पहेँलो चिन्ह देखाउँछ, यसलाई सन्तोषजनक मानिएको छ ।
यसैगरी, ५० प्रतिशतभन्दा कम काम गरेका मन्त्रालयलाई रातो चिन्ह दिन्छ, यसलाई नकारात्मक सूचक मानिएको छ ।


1170 पटक हेरिएको 

