
काठमाडौ : खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख कविन्द्र बिक्रम कार्कीले सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले एन्फोले फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनमा गरेको अनुसन्धान, प्राप्ति र सिकाई वास क्षेत्रका लागि मात्र नभई देशकै लागि महत्वपूर्ण भएको बताउनुभयो ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको प्रशिक्षण केन्द्रले डिजाइन गरेको तालिमका बिषयबस्तु र एन्फोले दिइने तालिमका बिषयबस्तु र सिकाई आदानप्रदानले वास तालिम प्रभावकारी हुने उहाँले बताउनुभयो ।
‘हामीले बिगतमा के कति समन्वय र सहकार्य ग-यौं ? त्यो आफ्नै ठाउँमा छ, अब हामी एन्फोको तालिम केन्द्र र सरकारी तालिम केन्द्र बीच सिकाई आदानप्रदान तथा सहकार्य गर्न चाहन्छौं’ प्रमुख कार्कीले भन्नुभयो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) अन्तर्गत छुट्टै तालिम केन्द्र रहेको छ । जसले विभिन्न किसिमका तालिमहरुको बिषयबस्तु निर्माण गर्ने, तालिम प्रदान गर्ने काम गर्दछ । एन्फो तालिम केन्द्रले हालसम्म ३० वटा भन्दा बढी ट्रेनिङ प्याकेजहरु निर्माण गरिसकेको छ । सन् २०१५ मा २ सय भन्दा बढी तालिम सञ्चालन गरेको तालिमको केन्द्रको अनुभव छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कार्कीले सरकारको नेतृत्वमा गैरसरकारी संस्था, विकास साझेदार, समुदाय सबैको सत्प्रयासबाट राष्ट्रले सरसफाइमा राखेको लक्ष्य प्राप्तिको निकट बिन्दुमा पुगेको जानकारी गराउनुभयो ।
अबको यात्रा पूर्ण सरसफाइ : कार्यकारी निर्देशक डंगोल

कार्यक्रमका सभापति एवं एन्फोका कार्यकारी निर्देशक विपिन डंगोलले अब खुला दिसामुक्त घोषणामा मात्र सीमित नरही पूर्ण सरसफाइ तिर सबैको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्त गर्न निक्कै चुनौती रहेको भन्दै यसका लागि अहिले देखि नै नलाग्ने हो भने सम्भव नहुने बताउनुभयो । यसका लागि सरकारले पूर्ण सरसफाइ निर्देशिका ल्याइसकेको र सोही निर्देशिकाको आधारमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सन् १९९० मा स्थापना भएको बातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले समुदायमा आधारित विभिन्न अनुसन्धानात्मक कामहरु गर्दै आएको छ ।
भोलिसम्म चल्ने सिकाई आदानप्रदान कार्यक्रममा दोलखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रेपाल्चोक लगायत जिल्लामा वास क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधी सहभागी छन् ।

कार्यक्रमको पहिलो दिन वास क्षेत्रका प्रमुख सवालहरु, स्वस्थ समुदाय घोषणा, व्यवहार परिवर्तनका लागि स्थानीय स्वयंसेवकहरु अभिकर्ताको रुपमा, दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन र नेपालमा यसको महत्व लगायत बिषयमा सिकाई आदानप्रदान गरिएको छ ।

फोटो : सबुना गमाल


2527 पटक हेरिएको 

