काठमाडौ : वास क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधीहरुका लागि सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वास क्षेत्रमा कामको दौरानमा हासिल गरेको सिकाई तथा स्थापित अवधारणाका बिषयमा व्यापक छलफल गर्दै कार्यक्रम समापन गरिएको हो ।
समापन कार्यक्रममा सहभागीहरुले सिकाई आदानप्रदान कार्यक्रम ज्ञान आर्जनको राम्रो थलो भएको बताए । कार्यक्रममा धुलिखेल अस्पतालकी श्रृंखला श्रेष्ठले देशमा चलिरहेको सरसफाइ अभियान, सरकारी तथा गैरसरकारी संस्थाले गरिरहेको काम र समुदायको दायित्वका बिषयमा आफूले जान्ने मौका पाएको बताउनुभयो ।
यस्तै शान्ति जन आदर्श सेवा केन्द्र काभ्रेपलाञ्चोकका शंख बुद्ध लामाले एन्फोसँगको साझेदारीले संस्थागत क्षमता अभिबृद्धि भएको बताउनुभयो । उहाँले संसारमा अरु चीजको विकल्प भएपनि पानी र सरसफाइको बिकल्प नभएकाले वास क्षेत्रका प्रबद्र्धनका लागि सधैं लागिपर्ने बताउनुभयो ।
सिकाई आदानप्रदान मार्फत सीप र प्रबिधिको हस्तान्तरण : उपाध्यक्ष जोशी

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का उपाध्यक्ष राजीव जोशीले वास क्षेत्रको सिकाई आदानप्रदानले सीप र प्रविधिको हस्तान्तरण हुने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जोशीले भन्नुभयो ‘वासको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका हुन्छन्, ती प्रविधिहरु साधन स्रोतको अभावमा गाउँसम्म पुग्न सकिरहेको हुँदैन भने गाउँमा कामको दौरानमा यहाँहरुले सिकेका कुराहरु केन्द्रसम्म आईपुग्दैनन् त्यसैले सीप र प्रविधिको आदानप्रदानका लागि यो कार्यक्रम गर्नु परेको हो ।’
‘हामी सधैं काम काम भनेर दौडिएर मात्र पनि नहुने रहेछ । वास क्षेत्रमा काम गर्दै जाँदा धेरै अनुभव बटुल्नु भएको छ, त्यही अनुुभवहरु साटासाट गर्दा अरुले पनि सिक्ने र अवलम्बन गर्ने अवसर पाउँछन्’ उहाँले भन्नुभयो ।
ज्ञान च्यापेर राखेर कहिल्यै विस्तार हुँदैन : कार्यकारी निर्देशक डंगोल

सिकाई आदानप्रदान कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै एन्फोका कार्यकारी निर्देशक विपीन डंगोलले आफूले सिकेको ज्ञान, सीप कहिल्यै पनि लुकाएर नराख्न आग्रह गर्नुभयो । ज्ञान, सीपलाई जत्ति फैलायो, उत्ति नै बृद्धि हुँदै जाने भएकाले मैले सिकेको ज्ञान मेरो मात्र हो भनेर च्यापेर नराख्न आग्रह गर्नुभयो ।
‘प्रविधिको यो जमानामा तपाईले जे खोज्नुहुन्छ आफ्नै गोजीमा पाउनुहुन्छ, संसारभरिका नवीन कुराहरु तपाई क्षणभरमा प्राप्त गर्न सक्नुहुन्छ । ज्ञान भन्ने कुरा जत्ति धेरै बिस्तार गर्न खोज्नुहुन्छ, त्यत्ति नै बढ्दै जान्छ’ उहाँले भन्नुभयो ।
उहाँले भविश्यमा पनि नियमित सहकार्यका लागि सहभागी संघसंस्थाका सबै प्रतिनिधीलाई आग्रह गर्नुभयो । ‘हाम्रो यो संस्थागत सम्बन्धलाई दिगो राख्न सहकार्य गर्नुपर्छ, त्यसमा विश्वास हुनुपर्छ र यथावत राख्न सञ्चार गर्नुपर्छ’ कार्यकारी निर्देशक डंगोलले भन्नुभयो ।
यस प्रकारका सिकाई आदानप्रदानको कार्यक्रम बर्षमा एक पटक पालैपालो आयोजना गर्न उहाँले प्रस्ताव गर्नुभयो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले वास क्षेत्रको सिकाई आदानप्रदान गर्न विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई सहभागी गराई बर्षेनी सिकाई आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।
यसबर्ष Global Affairs Canada को सहयोग र Centre for Affordable Water and Sanitation Technology (CAWST) को सहकार्यमा आयोजित कार्यक्रममा दोलखा, धादिङ, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटका विभिन्न संघसंस्थामा कार्यरत २९ जना सहभागी थिए ।


1197 पटक हेरिएको 

