सरकारी निकाय बीच समन्वय अभावले खानेपानीको मुहानमा असर : सभापति खड्का

काठमाडौ : संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले विकास निर्माणको काममा सरकारी निकायहरु बीच समन्वय नहुँदा खानेपानी लगायत अन्य पूर्वाधारको कामले गति लिन नसकेको बताउनुभएको छ ।

विश्व पानी दिवसको अवसरमा वास मिडिया फोरमले आयोजना गरेको ‘नेपालमा खानेपानी बिषयक वास बहस’ मा बोल्दै सभापति खड्काले भन्नुभयो ‘विकास निर्माणको काममा पटक्कै समन्वय देखिदैन, एउटा निकायले सडक बनाउँछ, पिच गर्छ, त्यसको केही समयपछि अर्को निकायले भत्काउँछ पाइप विछ्याउँछ । जंगल छ, खानेपानीको मुहान छ, तर सडक खन्दा के असर पर्छ केही अध्ययन नगरिकनै धमाधम सडक खनिरहेको छ, यसले खानेपानीको मुहान सुक्दै गएको छ ।’

 

 

विकास निर्माणको नाममा अनधिकृत तवरले खनिएका बाटोघाटोकै कारण खानेपानीको मुहान संरक्षणमा चुनौती थपिएकाले बिकासको काम गर्दा पनि सुझबुझ पूर्ण तवरले गर्नुपर्ने र सरकारका निकायहरु बीच समन्वय हुनुपर्ने उहाँले बताउनुभयो । खानेपानीको स्रोतको संरक्षणका लागि चुरे संरक्षण गर्नुपर्ने र यसबाटै नै खानेपानीको पनि संरक्षण हुने उहाँको भनाई थियो ।

‘चुरे दोहनलाई हामीले रोक्न सकेनौं भने भूमिगत पानीको स्रोतलाई पनि जोगाउन सक्दैनौं, हाम्रो अन्नभण्डार पनि मरुभूमिमा परिणत हुने निश्चित छ, त्यसैले चुरे दोहन रोक्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सुझावलाई पालना नगरी जंगल फडानी गर्ने, चुनढुंगा खानी सञ्चालन गर्ने र पानीको स्रोत माथि असर पु-याउने व्यक्ति तथा कम्पनीलाई कस्तो कार्वाही हुन्छ भनेर सहभागीले प्रश्न सोधेका थिए ।

जवाफमा सभापति खड्काले संसदको विकास समितिले सरकारको कार्यकारी निकायलाई निर्देशन दिएको र त्यस्ता व्यक्ति तथा कम्पनी माथि कानुन बमोजिम कार्वाही हुने बताउनुभएको थियो । उहाँले संविधान सँग बाझिएका कतिपय कानुनहरु परिमार्जन गर्नुपर्ने र कतिपय नयाँ निर्माणको चरणमा रहेकाले खानेपानी तथा सरसफाइ सँग सम्बन्धित ऐन कानुनलाई पनि त्यही मुताबिक संशोधन तथा निर्माण गर्दै लगिने बताउनुभयो ।

 

सुरक्षित पानी नपिउनेको मस्तिष्क पनि बोदो : पूर्व सचिव उपाध्याय

कार्यक्रमका बक्ता एवं पूर्व खानेपानी सचिव भीम उपाध्यायले सुरक्षित पानी पिउने बालकको तुलनामा नपिउने बालकको मस्तिष्क समेत बोदो हुने बताउनुभयो । उहाँले खानेपानी र सरसफाइका कारण झाडापखाला, आउँ जस्ता रोगहरुको अलावा असुरक्षित पानी पिउने बालकको मस्तिष्क समेत बोदो हुने बताउनुभएको हो । सुरक्षित पानीको महत्वको विषयमा बोल्दै उहाँले सुरक्षित पानी पिउन पाएका बालबालिकाको मस्तिष्क अति तेज र तीक्ष्ण हुने बताउनुभयो ।

सुरक्षित खानेपानीको यत्ति धेरै महत्व हुँदाहुँदै राज्यले खानेपानीमा कम लगानी गरेको र प्राथमिकतामा नपारेको गुनासो गर्नुभयो । उहाँले पछिल्ला बर्षहरुमा खानेपानी र सरसफाइमा गरेको लगानीले पानीजन्य रोगहरुमा कमी आएको तथ्याङ्कले पुष्टि गरेको बताउनुभयो ।

सरकारले अन्य विकास निर्माणको काममा जस्तै खानेपानीको पूर्वाधार निर्माण र सचेतना अभिबृद्धिका लागि पनि ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

१३ प्रतिशत जनताको अवस्था खोजिरहेका छौं : फेडवासन अध्यक्ष अर्याल

‘वास बहस’ का अर्का वक्ता एवं खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीमा ८७ प्रतिशत नागरिकको पहुँच पुगेको सरकारी तथ्याङ्क रहे पनि ती सबै पूर्ण सुचारुपनाको अवस्थामा नरहेको बताउनुभयो । उहाँले ८७ प्रतिशत नागरिकको खानेपानीमा सहज पहुँच भएपनि बाँकी १३ प्रतिशतले कसरी उपभोग गरिरहेका छन् भन्ने अवस्थाको खोजी भइरहेको बताउनुभयो ।

वहसको सञ्चालन गरिरहेकी मनिषा अवस्थीले १३ प्रतिशत नागरिकले कसरी पानी पिइरहेका छन् त ? भनेर सोधिएको प्रश्नमा अध्यक्ष अर्यालले कतिपय नागरिकले आफैले पाइपको व्यवस्था गरेर पिइरहेको र कतिपयले भने धेरै टाढाको स्रोतबाट खानेपानीको प्रबन्ध मिलाईरहेको बताउनुभएको थियो । उहाँले डाँडामा रहेको बस्तीका लागि नदी तथा खोलाको पानी लिफ्टिङ गरेर लैजाने प्रविधि भए पनि त्यो महँगो हुने र प्रति व्यक्ति लागत नै धेरै हुने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले साना तथा ठूला खानेपानी आयोजनाहरुको सुचारुपना तथा दिगोपनाको अवस्था, खानेपानीको विद्यमान ऐन कानुन तथा खानेपानीको स्रोतमा क्षति पु¥याउनेहरु माथि कस्तो कानुनी व्यवस्था छ ? भनेर प्रश्न गरेका थिए ।

कार्यक्रममा हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमकी अनुगमन तथा सुपरिवेक्षण अधिकृत रुबिका श्रेष्ठले प्राकृतिक स्रोत सफा भएपनि मानवीय क्रियाकलापका कारण प्रदुषण हुन सक्ने बताउनुभयो । उहाँले खानेपानीको शुद्धिकरणका लागि विभिन्न प्रबिधि आइसकेकाले जस्तो सुकै पानीलाई पनि निर्मलीकरण गरी पिउन योग्य बनाउन सक्ने भएकाले पानी पिउनु भन्दा पहिले खानेपानीलाई शुद्धिकरण गर्नुपर्ने बताउनुभयो ।

खानेपानी सुरक्षित भएपनि मानिसको सरसफाइ र स्वच्छता सम्बन्धी आनीबानीका कारण पनि खानेपानी प्रदुषित हुन सक्ने उहाँले बताउनुभयो ।

२७ औं विश्व पानी दिवसको अवसरमा आयोजना गरिएको वास बहसलाई आगामी दिनमा पनि निरन्तरता दिईने वास मिडिया फोरमले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार