सल्यान : सल्यानमै उद्योग स्थापना गरी स्यानिटरी प्याडको व्यवसायिक उत्पादन गर्न थालिएको छ । शारदा नगरपालिका–४ साहूटोमा सुरक्षा स्यानिटरी प्याड उद्योगले स्यानिटरी प्याड उत्पादन गर्न थालेको हो । स्यानिटरी प्याड उद्योगको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटन गर्नुभयो ।

उहाँले नगरभित्र रहेका १३ वटा माध्यमिक विद्यालयका छात्राहरूका लागि आउँदो वैशाखदेखि निःशुल्क प्याडको व्यवस्था गर्ने जानकारी दिनुभयो ।महिनावारी भएको समयमा कतिपय छात्राहरू विद्यालयमा समेत नआउने गरेको बताउँदै उहाँले स्यानिटरी प्याडको व्यवस्था गरेमा छात्राहरू पनि नियमित विद्यालयमा आउने र पठन–पाठनमा पनि सुधार हुने बताउनुभयो । यस्तै उपप्रमुख साबित्रा बस्नेतले सेनेटरी प्याड बिक्री गर्दा प्याडको प्रयोग विधिका बारेमा समेत सिकाउन उद्योग सञ्चालकलाई आग्रह गर्नुभयो ।
जिल्लामै स्यानिटरी प्याडको माग बढ्न थालेपछि बाहिरबाट आयात गरेर विक्री गर्नु भन्दा प्याड उद्योग नै स्थापना गरी प्याड उत्पादन गर्न थालिएको सुरक्षा सेनेटरी प्याड उद्योगका सञ्चालक लक्ष्मी बस्नेतले बताउनुभयो ।
करिब १४ लाख रुपैयाँको लागतमा स्थापना गरिएको उद्योगमा अहिले ३ जना कर्मचारी राखिएको छ । ३ वटा मेसिन तथा अन्य औजार उपकरण खरिद गरेर स्यानिटरी प्याड उद्योग सञ्चालन गरेको सञ्चालक बस्नेतले बताउनुभयो । यहाँ उत्पादित प्याड सल्यान जिल्ला सँगै छिमेकी जिल्लाहरूमा समेत निर्यात गर्ने उहाँको योजना छ ।
सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका बिभिन्न सहरहरूका साथै भारतबाट निर्यात गरिएका प्याड भन्दा यस उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो हुने उहाँले बताउनुभयो ।
‘अझै पनि किशोरी तथा महिलाहरूले महिनावारी भएको बेला रुमाल, कपडा प्रयोग गर्नुहुन्छ, सफा नभएको, नधोएको, घाममा नसुकाएको प्याडको प्रयोग गर्नुहुन्छ, जसले गर्दा विभिन्न संक्रमण हुनसक्छ, उपचारका लागि हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ स्यानिटरी प्याड किन्दा केही महँगो परेपनि स्वास्थ्यमा केही समस्या आउँदैन ।’ उहाँले भन्नुभयो ।


1263 पटक हेरिएको 

