दुई दिनमै बन्यो आठ कोठे शौचालय, यस्तो छ शौचालयको विशेषता

काठमाडौ : विद्यालयको खाली प्राङ्गणमा हप्ता दिन अघिसम्म पनि केही थिएन । त्यसपछि ट्रकमा केही सामान झारेको देखेका विद्यार्थी तथा अभिभावक र स्वयं शिक्षक पनि दुई – चार दिनकै बीचमा आठ कोठे शौचालय ठडिएको देखेर आश्चर्य चकित भए ।

 

नहोस् पनि कसरी ? यसअघि शौचालय निर्माण गर्न नै महिनौं दिन लागेको देखेका अभिभावक तथा शिक्षक विद्यार्थीले शौचालय ठडिएको मात्र देखेनन् एक हुल भारतीय नागरिक, सहयोगी संस्थाका पदाधिकारी र संघीय सांसद जीवनराम श्रेष्ठ सहभागी हुनुभएको शौचालयको उदघाटन कार्यक्रममा समेत सरिक हुन पाए ।
शौचालय र आकाशेपानी संकलन प्रविधिको सांसद जीवनराम श्रेष्ठले उदघाटन गर्नुभयो ।

शौचालय बनाउँदा विकल्पहरुको खोजी गर्ने हो भने बजारमा अत्याधुनिक, क्षणभरमै निर्माण गर्न सकिने र आर्थिक रुपमा पनि किफायती खालका शौचालय समेत आएका छन् भन्ने यो एउटा उदाहरण हो ।

काठमाडौ महानगरपालिकाको वडा नं. १३ मा अवस्थित जनप्रभात माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयलाई ‘नमुना विद्यालय शौचालय’ नाम दिइएको छ । महिलाका लागि ४ र पुरुषका लागि ४ कोठा रहेको शौचालयमा जर्मन प्रविधिबाट निर्मित अत्याधुनिक सामग्री प्रयोग गरिएको छ । यो शौचालय आर्थिक रुपमा किफायती, वातावरणमैत्री र नेपालको लागि नमुना भएको Covestro India Pvt Ltd का अजय गुरानीले जानकारी दिनुभयो ।

निर्माण कम्पनी Covestro India Pvt Ltd का अनुसार यो शौचालयको ताप प्रतिरोधी, पानी नछिर्ने, आगो नलाग्ने र ४० बर्षसम्म टिकाउन हुने विशेषता छ । यो छोटो समयमा निर्माण हुने, ठूलो जग्गाको आवश्यकता नपर्ने र जुनसुकै भुगोलमा पनि निर्माण गर्न सकिने गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार आठ कोठ शौचालय निर्माणका लागि करिब ५ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

 

नमुना विद्यालय शौचालय निर्माण भएपछि विद्यालयको शैक्षिक सुधारमा समेत टेवा पुग्ने विद्यालयका प्रधानाध्यपक सतेन्द्रलाल कर्णले बताउनुभयो । उदघाटन कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले विद्यालयमा खानेपानी र सरसफाइको अभावमा विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत असर पुग्ने बताउनुभयो ।

उहाँले विभिन्न दातृ संस्थाले विद्यालयमा सरसफाइ, खानेपानी तथा हात धुने ठाउँको व्यवस्था गरिदिएकोमा प्रशंसा गर्नुभयो । ‘नमुना विद्यालय शौचालय’ खानेपानी तथा ढल व्यवस्थापन विभागको संयोजन तथा Covestro India Pvt Ltd बाट निर्माण प्रविधि सहयोगमा गुठी संस्थाले निर्माण गरेको हो ।

काठमाडौ महानगरपालिकाले सार्वजनिक शौचालयहरु बनाउने योजना बनाईरहेका बेला यस प्रकारका शौचालयहरु उपयोगी हुने सहभागीहरुले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार