काठमाडौ : सरकारले सात वटै प्रदेशमा स्मार्ट शौचालय बनाउने भएको छ । नमुनाका लागि हरेक प्रदेशमा २/२ वटा शौचालयका दरले १४ वटा स्मार्ट शौचालय बनाउने योजना रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागकी उप महानिर्देशक मीना श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी मे २८ तारिखमा मनाईने महिनावारी स्वच्छता दिवसको तयारीका लागि महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकमा उप महानिर्देशक श्रेष्ठले विभागले बनाउने स्मार्ट शौचालय सम्बन्धी जानकारी गराउनुभएको हो ।
विभागले ई शौचालयलाई भन्दा स्मार्ट शौचालयलाई महत्व दिने भएको छ । ई शौचालय प्रयोगकर्तामैत्री नभएकाले झनै शौचालय वरिपरि फोहोर हुने सम्भावना भएपछि स्मार्ट शौचालय प्राथमिकतामा परेको हो । स्मार्ट शौचालयमा २४ सै घण्टा पानीको उपलब्धता हुनेछ । शौचालयमा पानी नभए मानिसहरु शौचालय पस्नै नरुचाउने र प्रयोग गरिहालेमा शौचालय फोहोर हुने भएकाले शौचालयमा अनिवार्य पानी हुनुपर्ने उप महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
उहाँले अब बन्ने शौचालय महिलामैत्री, अपाङ्गतामैत्री र हरेक प्रयोगकर्तामैत्री हुनुपर्ने बताउनुभयो । महिलाहरुले महिनावारी भएको समयमा प्याड फेर्न मिल्ने र बिसर्जन गर्न मिल्ने व्यवस्था पनि शौचालयमै हुनुपर्ने उहाँले बताउनुभयो ।
‘पानीको उपलब्धता नभएमा हामी आफैलाई पनि शौचालयमा जान मन लाग्दैन । कार्यालयमै भएको शौचालयमा समेत पानी नहुँदा पस्न मन लाग्दैन । यो कुरा त सबैमा लागु हुन्छ । त्यसैले पानी बिनाको शौचालय प्रयोग नआउने भएकाले अब बन्ने शौचालयमा २४ सै घण्टा पानीको व्यवस्था गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
एक अध्ययनले सार्वजनिक शौचालयहरु प्रयोगकर्तामैत्री नभएको, पानीको उपलब्ध नभएको, विजुलीको व्यवस्था नभएको, धेरै फोहोर भएको र असुरक्षित रहेको पाइएको छ ।


856 पटक हेरिएको 

