बाँके : शौचालय निर्माण गर्न नसक्दा बाँके र बर्दियाका पाँच सय ६७ परिवारले जनता आवास कार्यक्रमबाट पाउनुपर्ने अन्तिम किस्ता बापतको रकम पाउन सकेका छैनन् । आर्थिक वर्ष ०७३/७४ मा बाँके र बर्दियाका एक हजार आठ सय विपन्न परिवारलाई घर निर्माणका लागि रकम दिने निर्णय भएको थियो । तीमध्ये शौचालय बनाउन नसकेका पाँच सय ६७ परिवारको अन्तिम किस्ता रकम रोकिएको हो ।
‘शौचालय बनाएर अन्तिम किस्ताको रकम लैजानुस् भन्दा भन्दा थाक्यौँ, तर अधिकांश बनाउन मान्दैनन्,’ उहाँले भन्नुभयो ।
जनता आवास कार्यक्रमको सहयोगमा घर बनाउँदा शौचालय अनिवार्य गरिएको छ । शौचालय नबनाएका कारण अन्तिम किस्ता भुक्तान दिन नसकिएको सहरी विकास तथा भवन कार्यालय बाँकेका सूचना अधिकारी कमल भण्डारीले जानकारी दिनुभयो ।
गरिब, पिछडिएका, अल्पसंख्यक, सीमान्तकृत र दलित समुदायका विपन्न परिवारको छनोट गरी घर बनाउन आर्थिक सहयोग गर्दै आएको उनले बताए । केहीको जमिन नभएका कारण शौचालय बनाउन नसकेको भए पनि ८०–९० प्रतिशत परिवारले शौचालय निर्माण नगरेकै कारण रकम पाउन नसकेको भण्डारीले बताउनुभयो । ‘शौचालय बनाएर अन्तिम किस्ताको रकम लैजानुस् भन्दा भन्दा थाक्यौँ, तर अधिकांश बनाउन मान्दैनन्,’ उहाँले भन्नुभयो ।
उहाँले बाँके र बर्दिया खुला दिसामुक्त घोषणा भइसकेकाले शौचालय निर्माण नगरेका परिवारलाई रकम दिन नमिल्ने बताउनुभयो । जनता आवास कार्यक्रममै दुई बेडरुम, एक भान्सा र बरन्डा सहित शौचालय अनिवार्य गरिएको छ । ‘एक त सुरुमै नियमले बाँधेको छ, त्यसैमा पनि खुला दिसामुक्त घोषणा भएको ठाउँमा शौचालय नभएकालाई रकम दिन मिल्ने कुरै भएन,’ सब–इन्जिनियर समेत रहेका सूचना अधिकारी भण्डारीले भन्नुभयो ।
विपन्न परिवारको घर निर्माणमा सहयोग पुर्याउन सहरी विकास तथा भवन कार्यालयले थप चार सय तीन परिवार छनोट गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा घर निर्माणका लागि बाँकेका आठ हजार पाँच सय परिवारले आवेदन दिएकोमा दुई सय २९ परिवार छनोट गरिएको कार्यालयले जनाएको छ ।
नयाँ पत्रिका दैनिकबाट ।


1020 पटक हेरिएको 

