भक्तपुर : चाँगुनारायण नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाईमा सुरु भएको बृहत सरसफाइ एवं जनचेतनात्मक कार्यक्रम छैंटौं हप्तामा प्रवेश गरेको छ । छैटौं हप्ताको कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वडा नं.१ को सरस्वती टोलमा सफाइ गरिएको छ ।
चाँगुनारायण नगरपालिकाका वास फोकल पर्सन रामेश्वर थापाका अनुसार छैटौं हप्ताको कार्यक्रममा बसपार्कदेखि बुद्ध मन्दिर सम्म सरसफाइ गरिएको छ । उपमेयर बिना बाँस्तोलाको प्रमुख आतिथ्य एवं वडा नं. १ का अध्यक्ष राजेस खड्का र २ नं वडा अध्यक्ष शिवहरि केसीको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरी, नेपाल रेडक्रस, विद्यार्थी र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता थियो ।
नगर स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी चाँगुनारायण) को अगुवाइमा प्रत्येक शनिवार नगर स्तरिय वृहत सरसफाइ तथा सचेतना कार्यक्रम सञ्चालन हुँदै आएको छ । नगरपालिकामा क्रियाशील संघ संस्था, विद्यालय, सहकारी संस्था र सुरक्षा निकायले सरसफाइ एवं जनचेतनात्मक कार्यक्रममा सहभागिता जनाउने गरेका छन् ।