गुणस्तरीय निर्माण र दिगोपना नै फण्ड बोर्डको चिनारी हो : सचिव श्रेष्ठ

 1608 पटक हेरिएको

इलाम : पर्यटकीय जिल्ला इलामको विकासमा सँगै जोडिएर आउने नाम हो ‘सुनगाभा विकास संस्था इलाम ।’ २०३६ सालमै स्थापना भएको सुनगाभा विकास संस्थासँग खासगरी खानेपानी र सरसफाइ क्षेत्रको लामो अनुभव छ । इलामलाई चौबीसौं खुला दिसामुक्त जिल्लाको सूचीमा पार्न सुनगाभाले पुर्‍याएको योगदान कम छैन । इलामले २०७१ साल फागुन १४ गते चौबीसौं खुला दिसामुक्त घोषित जिल्लाको पहिचान बनाएको थियो ।

सुनगाभा विकास संस्थाले खानेपानीको क्षेत्रमा पुर्‍याएको योगदान पनि अतुलनिय छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको साझेदारीमा विकट गाउँमा समेत खानेपानीको सुविधा पुर्‍याउन सफल संस्थाले खानेपानीको सुचारुपना र दिगोपनाका कैयन अनुभव बटुलिसकेको छ ।

सुनगाभाको वर्तमान कार्यसमितिमा सचिव हुनुहुन्छ कृष्ण श्रेष्ठ । स्थापनाकाल देखि नै विभिन्न तह र तप्कामा रहेर संस्थाको उद्देश्य पूर्तिका लागि सक्रिय श्रेष्ठले आफ्नै प्रत्यक्ष सहभागितामा खानेपानी तथा सरसफाइ परियोजनाहरु सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।

हेरौं, इलामको खानेपानी र सरसफाइमा सुनगाभा विकास संस्थाले पुर्‍याएको योगदान, पूर्ण सरसफाइमा हाल गरिरहेको काम र खानेपानीको दिगोपना तथा सुचारुपनाका लागि उपभोक्ता आफैले गर्न सक्ने कामका बिषयमा सचिव श्रेष्ठसँग गरिएको कुराकानी :

 

उहाँले खानेपानी तथा सरसफाइ आयोजना निर्माणका लागि साझेदारी गरेका संघसंस्थाहरु मध्ये ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को मोडल अति नै मनपरेको र योजनाको दिगोपनाका लागि फण्ड बोर्डको मोडालिटी अति प्रभावकारी रहेको बताउनुभयो । ‘फण्ड बोर्डले अरु संघसंस्थाले जस्तो हचुवाको भरमा योजना पास गर्दैन, बोर्डले पूर्व विकास चरण, कार्यान्वयन चरण र विकास चरण पार गर्नैपर्छ । योजना सम्पन्न भएपछि पनि फण्डबोर्डले दिगोपनाका दृष्टिकोणबाट नियमित अनुगमन गर्ने प्रणाली छ’ उहाँले भन्नुभयो ।

आयोजना क्षेत्रको भौगोलिक अवस्था, यातायातको सुविधा, खानेपानी आयोजनाहरुको प्राविधिक विकल्प, समुदायको बनौट र अवस्थितिका आधारमा आयोजनाको अवधि थोरै वा धेरै हुने भएपनि २ बर्षभित्र आयोजना सम्पन्न गर्नेुपर्ने फण्ड बोर्डको प्रावधान छ । कुनै आयोजनाले सुरु देखि सम्पन्न हुँदा सम्म ४ वटा चरण पार गरेकै हुनुपर्छ ।

यी हुन् आयोजनाको ४ चरण र हरेक चरणमा हुने क्रियाकलाप :

पहिलो चरण — पूर्व विकास चरण

यो कुनै पनि आयोजनाको प्रारम्भिक चरण हो । यो चरण ३ देखि ६ महिनाको हुन्छ । पूर्व विकास चरणमा निम्न क्रियाकलापहरु गरिन्छ ।

 सहयोगी संस्था पहिचान र छनौट

 समुदायको माग र आवश्यकताका आधारमा जिल्ला समन्वय समिति मार्फत आयोजना प्राथमिकीकरण

 सहयोगी संस्थालाई प्रस्ताव तयारीका लागि अभिमुखीकरण तालिम

 सेवामूलक निकाय/व्यक्तिलाई आयोजना र आयोजना स्थलको मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण/तालिम

 आयोजना सञ्चालनमा सहयोगका लागि सहयोगी संस्थाहरुसँग विकास चरणको सम्झौता ।

दोस्रो चरण – विकास चरण

विकास चरण कुनै पनि आयोजनाको दोस्रो चरण हो । छैटौं देखि आठौं महिनासम्म जारी रहन्छ । अर्थात दोस्रो चरणको अवधि २ महिनाको हुन्छ ।
विकास चरण अन्तर्गत निम्न क्रियाकलाप गरिन्छ ।

 सहयोगी संस्थाका कर्मचारीहरुलाई आयोजना सम्बन्धी अभिमुखीकरण

 सामाजिक शसक्तिकरण र परिचालन, वैधानिक संस्था (खानेपानी तथा सरसफाइ उपभोक्ता समूह/समिति) को गठन र दर्ताको लागि स्थानीय तहसँग समन्वय

 सामुदायिक कार्ययोजना (CAP) तयारी तथा केही कार्ययोजनाहरुको कार्यान्वयन

 विस्तृत अध्ययन, सर्वेक्षण, आयोजनाको प्रारुप तयारी र लागत अनुमान

 आयोजना सञ्चालनका लागि समुदायद्वारा नगद योगदान तथा मर्मत सम्भार कोष (O & M Fund) संकलन र व्यवस्थापन

 खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन भएका गाउँपालिका र नगरपालिकाका वडाहरुमा खुला दिसामुक्त र खुला दिसामुक्त पछिको पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि सह लगानी कोष निकासा

 कोष विकास समिति, समुदाय र सहयोगी संस्थाबीच खानेपानी आयोजना कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

 

तेस्रो चरण – कार्यान्वयन चरण

यो चरण ४ चरणहरु मध्य अति महत्वपूर्ण चरण हो । मुख्य कार्यक्रमको कार्यान्वयन यसै चरणमा गर्नुपर्दछ । कार्यान्वयन चरणमा निम्न कामहरु गरिन्छ ।

 कार्यान्वयन चरणका लागि तयार गरिएको सामुदायिक कार्ययोजना अनुरुप कार्यक्रमको कार्यान्वयन

 घरायसी तथा संस्थागत चर्पीहरुको निर्माण कार्यको थालनी

 मर्मत सम्भार कोषको स्थापना

 महिलाहरुको पानी ओसारपसारमा बचत भएको समयलाई उत्पादनशील कार्यमा उपयोग गर्नका लागि जीवका कार्यक्रमको थालनी

 खुला दिसामुक्त र खुला दिसामुक्त पछिको पूर्ण सरसफाइ अभियानको निरन्तरता र अभियान सञ्चालनका लागि खानेपानी आयोजना भएका साविकका गाविस तथा नगरपालिकाका वडाहरुलाई अन्तिम किस्ता प्रदान

 आयोजनाको पारदर्शिता र दिगोपनाका लागि कार्ययोजना तयारी (जागरण कार्यक्रम)

 कार्यान्वयन पछिको चरणका लागि प्रस्ताव तथा करार सम्झौता

 

चौथो – कार्यान्वयन पछिको चरण

यो आयोजनाको अन्तिम चरण हो । यस चरण अन्तर्गत निम्न क्रियाकलापहरु सम्पादन गरिन्छ ।

 दिगोपनाका दृष्टिकोणबाट प्राविधिक, सामाजिक र मर्मत सम्भार सहितको सामुदायिक व्यवस्थापन पक्षको नियमित अनुगमन

 सहयोगी संस्थाद्वारा प्राविधिक र सामाजिक पक्षको अनुगमन तथा प्राविधिक सहयोग

 खानेपानी आयोजनाको गुणस्तर वैकल्पिक सूचकहरुका माध्यमबाट अनुगमन

 खुला दिसामुक्त र त्यसपछिको पूर्ण सरसफाइ क्रियाकलापहरुको प्रगति विवरण स्थानीय सरकार र कोष विकास समिति समक्ष पेश


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार