
रुकुम पश्चिम : मुसीकोट नगरपालिकाको वडा नं. ७, ८, ९ र १० तथा सानीभेरी गाउँपालिकाको वडा नं. १, ३ र ९ लाई नमुना गाउँका रूपमा विकास गर्न लागिएको छ । दुवै स्थानीय तहले ‘नमुना गाउँ कार्यक्रम’ सञ्चालनका लागि नमुना समाज, सुर्खेतसँग सहकार्य गरेका छन् । नमुना गाउँ बनाउन सबै बस्तीमा खानेपानी, शौचालय लगायत सरसफाइका पूर्वाधार निर्माण गरिने सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । ‘नमुना गाउँले आर्थिक रूपले पछाडि पारिएका समुदायलाई उद्यमशील बनाउन सहयोग गर्नेछ’ उहाँले भन्नुभयो ‘यसबाट पिछडिएका समुदायको सीप, क्षमता, ज्ञान, प्रविधि एवं मौलिकपनलाई संरक्षण र प्रवर्द्धन गर्न ‘नमुना गाउँ कार्यक्रम’ अघि सारिएको हो ।’
आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमा पछि पारिएका महिलालाई सक्षम बनाउन कार्यक्रम कार्यान्वयन गर्न लागिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताउनुभयो । ‘गाउँलाई नमुना बनाउन विभिन्न सेवामूलक तथा चेतनामूलक कार्यक्रम सञ्चालन हुने र कार्यक्रमले महिलाको व्यक्तित्व र सीप विकास गरी आत्मनिर्भर बनाईने खड्काले बताउनुभयो ।
तीन वर्षसम्म नमुना वडा निर्माणका लागि आवश्यक बजेटको ३० प्रतिशत रकम स्थानीय तह र ७० प्रतिशत बजेट नमुना समाजले व्यहोर्ने गरी सम्झौता भइसकेको छ । मुसीकोटका चार वडा नमुना बनाउन समाजले तीन वर्षमा ४ करोड ६० लाख र नगरपालिकाले ३० लाख रुपैयाँ खर्च गर्नेछ भने सानीभेरी गाउँपालिकाले नमुना गाउँ कार्यक्रमका लागि ३० लाख रुपैयाँ लगानी गर्नेछ । समाजले भने ४ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।
अध्यक्ष पुनका अनुसार कार्यक्रमले महिला, बालबालिका, गरिब, दलित, जनजाति लगायतको सरसफाइ र स्वच्छता सम्बन्धी बानी–व्यवहार परिवर्तन, खानेपानीको उपलब्धता, उद्यमशीलता विकास र आयआर्जनमा टेवा पुर्याउनेछ । यसले उनीहरुको जीवनस्तर उकास्न मद्दत पुग्ने अध्यक्ष पुनको विश्वास छ ।


1574 पटक हेरिएको 

