हात धुँदा धाराको टुटी समाउनु पर्दैन, यसले टुटीमा साबुन नलाग्ने, फोहोर नहुने मात्र होइन, कसैलाई कोरोना संक्रमण भईहालेछ भने पनि अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन ।
सिरहा : दायाँ खुट्टाले दबाउँदा पानी झर्ने, बायाँ खुट्टाले थिच्दा साबुन झर्ने प्रविधिको हात धुने स्टेशन सिरहाको लहान नगरपालिका क्षेत्रभित्र जडान गर्न सुरु गरिएको छ । हातले छोइरहनु नपर्ने हात धुने ठाउँ (कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेसन ) को विहीबार उपमेयर सरियार चौधरीले हात धोएर उदघाटन गर्नुभयो ।

वाटर एड नेपालसँग सहकार्य गरी लहान नगरपालिकाको हाताभित्र, राधाकृष्ण चोक, इलाका प्रहरी कार्यालय र ७ नं. वडा कार्यालय लगायतको स्थानमा जडान भइसकेको र नगरपालिका क्षेत्रको २५ ठाउँमा हात धुने स्थान निर्माण गरिने लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम भुसालले जानकारी दिनुभयो ।
बजार क्षेत्रमा हात धुने स्टेशन स्थापना गरेपछि साबुन पानीले नियमित हात धुनुपर्छ भन्ने सन्देश प्रवाह हुने उहाँले बताउनुभयो । नगरपालिकाले मानिसहरुको चहलपहल हुनसक्ने ठाउँ चयन गरी हात धुने स्थानको प्रारम्भिक छनौट गरिएको र केही दिनभित्रै २५ वटै स्थानमा हात धुने ठाउँ स्थापना गरिने अधिकृत भुसालले बताउनुभयो । ‘हात धुँदा धाराको टुटी समाउनु पर्दैन, यसले धाराको टुटीमा साबुन नलाग्ने, फोहोर नहुने मात्र होइन, कसैलाई कोरोना संक्रमण भईहालेछ भने पनि अर्को व्यक्तिलाई सर्ने सम्भावना हुँदैन ।’ उहाँले भन्नुभयो ‘कोरोना भाइरस सबैभन्दा लामो समयसम्म धातुमा जीवित रहन्छ भन्ने छ, धाराको टुटी नै हातले समाउनु नपरेपछि कोरोना भाइरस टाँसिने र सर्ने कुरै आउँदैन ।’

ड्रममै हात धुने स्टेशनबारे जानकारीका साथै हात धुने विधिबारे पनि बर्णन गरिएको छ । नयाँ प्रयोगकर्ताले त्यहाँ राखिएको निर्देशिका पढेर हात धुन सक्नेछन् । हात धोएको फोहोर पानी जम्मा हुने छुट्टै सानो ड्रमको पनि व्यस्था गरिएको छ । फोहोर पानीले ड्रम भरिएपछि पानीको निकास भएको ठाउँमा बिसर्जन गर्नुपर्दछ ।
वाटर एड नेपालले काठमाडौ उपत्यका र लहान नगरपालिकामा गरी ७५ वटा स्थानमा हात धुने स्टेशन निर्माण गर्ने योजना अन्तर्गत लहानमा हात धुने स्थान राख्न थालेको हो ।
वाटर एडले काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका र किर्तिपुर नगरपालिकामा गरी ५० वटा स्थानमा हात धुने स्थान राख्ने जनाएको छ ।
नेपालले गएको चैत्र ३० गते आइतबार ललितपुर महानगरपालिका र अन्य साझेदार संघसंस्थाको सहकार्यमा ललितपुरको महानगरीय प्रहरी परिसर जावलाखेलमा स्थापना गरिएको थियो ।




5258 पटक हेरिएको 

