आर्यघाटमा बालमैत्री हातधुने स्टेशन

🔗
6
Shares


काठमाडौ : पाल्पाकी रञ्जना श्रेष्ठ वाग्मतीमा बग्ने फोहोर पानी र त्यहाँ वरपरको वातावरण सम्झेर आर्यघाट जानु नपरे हुन्थ्यो भन्ने कामना गर्नुहुन्थ्यो । तर मनले भने जस्तो कहाँ हुन्छ र ? हालै आफन्तको मृत्यु भएपछि उहाँले आर्यघाट नगई धर पाउनु भएन ।

श्रेष्ठ तीन बर्ष अघि आफ्नै मावला हजुरबाको निधन हुँदा पशुपति आर्यघाट जानुभएको रहेछ । ‘आर्यघाट त जाउला, तर हात धुने कहाँ ?’ उहाँलाई यही कुराले सताईरहेको थियो । ‘यत्तिबेला कोरोनाबाट बच्न समय समयमा हात धुनुपर्छ भनिरहेका छन्, घरमा त साबुन पानीले नियमित हात धोइरहेको हुन्छु । अब आर्यघाटमा त कहाँ धुने होला भनेर चिन्ता लागेको थियो ।’ रञ्जनाले भन्नुभयो ।

तर उहाँले चिन्ता लिएजस्तो आर्यघाटमा हात धुने स्थानको समस्या झेल्नुपरेन । आर्यघाटमा खुट्टाले प्याडल दबाउँदा पानी र साबुन झर्ने प्रविधिको प्रयोगमैत्री हात धुने स्टेशन देखेपछि उहाँ दंग पर्नुभयो । श्रेष्ठ भन्नुहुन्छ ‘मलाई त आर्यघाटमा पनि यस्तो व्यवस्थित हात धुने स्टेशन होला भन्ने त लागेकै थिएन । जसले गरेपनि साह्रै धार्मिक काम गर्नुभएछ । उहाँहरुलाई पूण्य मिलोस् म त यही भन्छु ।’

रञ्जना श्रेष्ठ जस्ता पशुपति आर्यघाटमा आउने सयौं मलामीहरु साबुन पानीले हात धुँदै मनमनै राम्रो कामको तारिफ गर्छन् । पशुपति आर्यघाटमा आउने मृतकका मलामी तथा अन्यका लागि लक्षित गरी Noble Compassionate Volunteers (NCV)  नामक संस्थाले हातधुने स्टेशन जडान गरेपछि हातधुने सुविधा पुगेको हो ।

आर्यघाटको तीन ठाउँमा यस्ता हात धुने स्टेशन जडान गरिएको NCV ले जनाएको छ । अग्लो तथा होचो व्यक्तिले पनि हात धुन सकिने, एक पटकमा तीन जनाले हात धुन मिल्ने, हात धुनका लागि खुट्टाको सहायताले प्याडल दबाएपछि पानी तथा साबुन उपलब्ध हुने हात धुने स्टेसनको विशेषता हो ।
कोरोना भाइरस (कोभिड – १९) को महामारीबाट जोगिन सबै नागरिकले उत्तिकै सचेतता अपनाउनुपर्ने भएकाले बालबालिकाको पहुँच पुग्ने गरी बालमैत्री हातधुने स्टेसन जडान गरिएको संस्थाले जनाएको छ ।

खुट्टाको सहायताले हात धुने भएकाले यसबाट कोही व्यक्तिमा कोरोना संक्रमण भैसकेको रहेछ भने पनि हात तथा धाराको टुटीको माध्यमबाट संक्रमण नफैलिने NCV ले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार