
बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा सरसफाइ सम्बन्धी विविध कार्यक्रम गरी २१औ राष्ट्रिय सरसफाइ सप्ताह मनाईरहेको छ । बाजुरा जिल्लाको सदरमुकाम र बुढीगंगाको कुल्देवमाण्डौको टाँटेमा र्याली निकालेर शनिबार सरसफाइ सप्ताहको सुरुवात गरिएको हो ।
सप्ताहव्यापी सरसफाइ कार्यक्रमको दोस्रो दिनआइतबार हात धुने कार्य सिकाउने, नोबेल कोरोना भाइरसबाट बच्ने उपाय बारे जनचेतनात्मक कार्यक्रम गरिएको छ । यस्तै सरसफाइ सप्ताहमा हात धुने तरिका सिकाउने, मंगलबार स्थानीयले निर्माण गरेका चर्पीेको अनुगमन गर्ने र सचेतना कार्यक्रम सञ्चालन गर्ने, बुधबार शुद्ध खानेपानीको अवस्थाको अनुगमन र खानेपानी कार्यालयका कर्मचारीसँग छलफल गर्ने कार्यक्रम तय गरिएको युएन ह्याबिट्याटको सहयोगमा बडिमालिका र बुढीगंगा नगरपालिकामा सञ्चालित पूर्ण सरसफाइ पालिका संयोजक नरेन्द्र थापाले जानकारी दिनुभयो ।

सरसफाइ सप्ताह अन्तर्गत नै बिहीबार बडीमालिका र बुढीगंगा नगरपालिकाको पूर्ण सरसफाइको अवस्थाबारे छलफल तथा र सरोकारवाला निकायसँग आगामी दिनमा पूर्ण सरसफाइका लागि आवश्यक रणनीतिका बारेमा छलफल गरी समापन गर्ने कार्यक्रम रहेको सरसफाइ पालिका संयोजक थापाले जानकारी दिनुभयो । युएन हेविट्याटको आर्थिक तथा प्राविधिक सहयोग र दुवै नगरपालिकाको संयोजनमा सरसफाइ सप्ताह सञ्चालन भईरहेको छ ।


1736 पटक हेरिएको 

