के तपाईलाई थाहा छ ? क्वारेन्टिन र एकान्तवासमा के-कस्ता वास व्यवहार अपनाउनुपर्छ ?

🔗
10
Shares


काठमाडौ : कोरोना भाइरस (कोभिड – १९) महामारीका कारण यत्तिबेला हजारौं व्यक्ति आइसोलेसन (एकान्तवास) मा बसेर स्वास्थ्य लाभ गराईरहेका छन् । आजसम्म नेपालमा ५ हजार ३३५ जना कोरोना संक्रमित भईसकेका छन् । ती मध्ये ९१३ जना कोरोनाको लडाई जितेर घर फर्किसकेका छन् भने १८ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको संक्रमण हुन सक्ने आशंकामा करिब त्यत्ति नै संख्यामा क्वारेन्टिनमा बसिरहेका छन् । क्वारेन्टिनमा वा आइसोलेसन (एकान्तवास), दुवै ठाउँमा बसिरहेकाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहारमा ध्यान दिनुपर्दछ । निश्चित सरसफाइ तथा स्वच्छता तथा सरसफाइ सम्बन्धी बानी व्यहोरा अपनाएमा मात्र कोरोनाबाट बच्न सकिन्छ ।

यसै अवस्थालाई ध्यानमा राखी वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले क्वारेन्टिन र एकान्तवासमा अपनाउनुपर्ने वास व्यवहारहरु सम्बन्धी विभिन्न चरणको अभिमुखीकरण गराउँदै आएको छ । क्वारेन्टिन तथा एकान्तवासमा अपनाउनुपर्ने वास व्यवहार सम्बन्धी जानकारी गराउने र क्वारेन्टिन र एकान्तवासमा रहेका मानिसहरुको लागि अत्यावश्यक खानेपानी, सरसफाइ र स्वच्छताको मापदण्डको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण गरिएको प्रशिक्षक शोभा राना मगरले जानकारी दिनुभयो ।

क्वारेन्टिन तथा एकान्तवासमा बसेकाले के कस्ता स्वच्छता सम्बन्धी व्यवहारहरु अपनाउनुपर्छ त ? प्रशिक्षक शोभा राना मगर भन्नुहुन्छ ।

♦ साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर लगाउने ।

♦ सबैले सुरक्षित पानी मात्र पिउने ।

♦ संक्रमित वा बिरामीलाई भेट गर्दा कम्तीमा ३ देखि ६ फिट दुरी कायम गर्ने ।

♦ हाच्छिउँ गर्दा वा खोक्दा नाक मुख छोप्ने ।

♦ जथाभावी नथुक्ने ।

♦ व्यक्तिगत सुरक्षाका सामग्रीहरु आफैले मात्र प्रयोग गर्ने ।

♦ प्रयोग गरिसकेका व्यक्तिगत सुरक्षाका सामानहरु बिसर्जन गर्ने ।

♦ फोहोर तोकिए ठाउँमा मात्र बिसर्जन गर्ने ।

♦ क्वारेन्टिन तथा एकान्तबासमा रहेका व्यक्तिको सामान छोइसकेपछि साबुन पानीले हात धुने ।

क्वारेन्टिन तथा एकान्तवासमा बसेकाले स्वच्छता सम्बन्धी व्यवहारहरु अपनाउनुपर्ने न छँदैछ, उनीहरुले पालना गर्नुपर्ने आचारसंहिता समेत निर्माण गरिएको छ । स्वच्छता सम्बन्धी व्यवहार अपनाएमा र तोकिएको आचारसंहिताको पालना गरेमा कोरोना संक्रमण अन्यत्र नफैलने र कोरोनासँगको लडाइमा चाँडै जीत हासिल गर्न सकिने प्रशिक्षक शोभा राना मगर बताउनुहुन्छ ।

क्वारेन्टिनमा रहने व्यक्तिहरुले पालना गर्नुपर्ने आचारसंहिता :

◊ सबैले सम्मानजनक र नम्र व्यवहार गर्ने, सहयोगी बन्ने ।

◊ जाति, धर्म, बर्ण, लिंग, भाषा भेषभूषा, भेग वा अन्य कुनै पनि आधारमा भेदभाव नगर्ने ।

◊ सूर्तीजन्य नशालु तथा मादक पदार्थ सेवन नगर्ने ।

◊ अशिष्ट, अभद्र र अस्वभाविक आचरण नगर्ने ।

◊ रिसाउने, झैझगडा गर्ने घाउचोट पुर्याउने कार्य नगर्ने ।

◊ सम्भ र शोभनीय पोशाक मात्र लगाउने ।

◊ कुनै पनि नकरात्मक गतिविधि लोभलालच होहल्ला, अत्याउने कार्य, अनावश्यक टिकाटिप्पणी नगर्ने ।

◊ तोकिएको स्थानमा मात्र बस्ने ।

◊ अरुलाई बाधा हुने वा हिनताबोध गराउने कार्य नगर्ने, नगराउने ।

◊ आत्मियताको विकास गर्दै शान्त र सौहार्दपूर्ण वातावरण सिर्जना गर्न सहयोग गर्ने ।

◊ कुनै पनि बाह्य व्यक्ति क्वारेन्टिन क्षेत्रभित्र वा नजिक देखिएमा जानकारी गराउने तथा कुनै किसिमको पशुपंक्षी नजिक देखिएमा सोको जानकारी गराउने ।

◊ क्वारेन्टिनमा रहेका व्यक्तिहरु भाग्ने वा भाग्न कोशिस गरेको देखेमा वा शंका लागेमा तुरुन्त खबर गर्ने ।

◊ प्राप्त सुविधाहरु आपसी समझदारीका आधारमा उपभोग गर्ने ।

◊ र उपलब्ध सरसामानहरुको हिफाजत र समुचित प्रयोग गर्ने ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार