खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम प्रसारण हुने

 2981 पटक हेरिएको
🔗
26
Shares


काठमाडौ : रेडियो कान्तिपुर, रेडियो राष्ट्रको बाट खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम ‘पानी, सरसफाइ र जीवन’ प्रसारण हुने भएको छ । कार्यक्रम हरेक बुधबार बेलुकी ६ बजेदेखि ६ : ३० बजेसम्म प्रसारण हुनेछ । कार्यक्रम ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको सहयोगमा सम्पन्न सञ्चारले उत्पादन गरेको हो ।

लामो समयको लकडाउनपछि काममा फर्किदा कोरोना संक्रमण रोकथामका लागि सावधानी अपनाउन, खानेपानी तथा सरसफाइ आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सम्बन्धित पक्षको भूमिकाबारे प्रष्ट हुन र खानेपानी तथा सरसफाइ आयोजनाहरु कार्यान्वयनका क्रममा उठेका गुनासाहरु सम्बोधन गर्न रेडियो कार्यक्रमले सघाउ पु्याउने विश्वास रहेको कोष विकास समितिका कार्यकारी निर्देशक चोक प्रसाद धितालले बताउनुभयो ।

‘रेडियो कार्यक्रमले खानेपानी, सरसफाइ र स्वच्छताका सवालहरुलाई बढी जोड दिनुपर्छ । कोभिड १९ को समयमा खानेपानी शुद्धीकरणका कुराहरु, सरसफाइमा ध्यान दिनुपर्ने कुराहरु र काममा जाँदा, काम सकेर घरमा फर्किएपछि के कस्ता स्वच्छतापूर्ण व्यवहारहरु अपनाउनुपर्छ भन्ने कुरालाई पनि समेट्नुपर्छ’ कार्यकारी निर्देशक धिताल भन्नुहुन्छ ‘रेडियो कार्यक्रमले निर्माणाधीन खानेपानी तथा सरसफाइ आयोजनाहरु समयमै सम्पन्न गराउन पनि घच्घच्याउनुपर्छ । यस्तै सर्वसाधारणको मनमा उब्जिएका गुनासाहरु सम्बन्धित ठाउँसम्म पु्याउने र गुनासा निदानका लागि सहयोग गर्ने भूमिका पनि खेल्नुपर्दछ ।’

खानेपानी तथा सरसफाइ आयोजनाहरुलाई बढी भन्दा बढी पारदर्शी र प्रभावकारी बनाउन, सामुदायिक खरिद प्रक्रिया, सार्वजनिक लेखा परीक्षण, विस्तृत अनुगमन र मुल्याङ्कन जस्ता कार्यपद्धति अपनाएको हुन्छ । यत्ति हुँदा हुँदै पनि आयोजना कार्यान्वयन गर्दा वित्तिय कारोबार, सामग्री खरिद व्यवस्थापन, कार्यान्वयन प्रक्रिया जस्ता विविध पक्षमा कहिलेकाहीं उपभोक्ता समूहको गुनासो, मतभेद वा असहमति हुने गरेकाले त्यस्ता गुनासोको व्यवस्थापन गर्न कोष विकास समितिले गुनासो निदान संयन्त्र बनाएको कोष विकास समितिका सूचना अधिकारी एवं मानव संशाधन तथा कार्यक्रम विकास महाशाखा प्रमुख टिका अधिकारीले बताउनुभयो । ‘कोष विकास समितिले उपभोक्ताहरुको गुनासो सुनुवाईका लागि गुनासो निदान संयन्त्र मार्गदर्शन तयार गरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सहयोगी संस्था र कोष विकास समिति गरी तीनै तहमा गुनासो निदान संयन्त्र बनाएको छ’ महाशाखा प्रमुख अधिकारी भन्नुहुन्छ ‘गुनासो निदान संयन्त्रमा गुनासाहरु टिपाउने र गुनासो सुनुवाईका लागि रेडियो कार्यक्रमले बाटो देखाउने काम गर्नेछ भन्ने लागेको छ ।’

लकडाउनका कारण लामो समयसम्म खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम रोकिएपनि अब लकडाउन खुकुलो भएकाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर काम अगाडि बढाउन कोष विकास समितिले आग्रह गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार