दिसाजन्य लेदो विसर्जन गर्दै आएकाहरुले कोरोना लाग्नबाट कसरी बच्ने ?

🔗
19
Shares


काठमाडौ : कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण तपाई हाम्रो दैनिकी घरभित्रै सीमित भएको छ । घरका सबैजसो परिवार घरभित्रै बस्दा सेप्टि ट्याङ्कीमा हुने दिसाजन्य लेदोको चाप अरु समयमा भन्दा बढी नै हुन्छ । ढल प्रणालीमा जोडिएका शौचालयले खाली गर्नु नपर्ने भएपनि सेप्टिक ट्याङ्की जडित शौचालयको भने दिसाजन्य लेदो खाली गरी विसर्जन गर्नुपर्ने हुन्छ ।

दिसाजन्य लेदो खाली गर्ने र विसर्जन गर्ने काम घरमूली वा कोठामा बस्ने मानिसले गर्न सक्दैनन् । यस्तो अवस्थामा व्यवसायिक रुपमै सेप्टिक ट्याङ्की खाली गर्ने र विसर्जन गर्ने कम्पनी वा व्यक्तिलाई बोलाएर खाली गर्नुपर्दछ ।

दिसाजन्य लेदोको सेप्टिक ट्याङ्की खाली गरी विसर्जन गर्ने कामका लागि विभिन्न व्यक्तिको घरमा पुग्नुपर्ने, पैसा तथा बिलको आदानप्रदान, उपकरणहरुको सम्पर्क आदिबाट कोरोना भाइरस संक्रमणको सम्भावना धेरै हुन्छ । यसै अवस्थालाई ध्यानमा राखी सेप्टिक ट्याङ्की खाली तथा विसर्जन गर्ने अर्थात दिसाजन्य लेदो व्यवस्थापनमा खटिरहेकाहरुका लागि कोरोना महामारीबाट जोगिने उपायका बिषयमा अभिमुखीकरण गरिएको छ ।

युनिसेफको सहयोगमा काठमाडौको गौरीघाटमा बुधबार वास र कोभिड – १९ सम्बन्धी अभिमुखीकरण गरिएको तालिम प्रशिक्षक एवं वातावरण र जनस्वास्थ्य संस्था एन्फोकी वरिष्ठ कार्यक्रम अधिकृत सिर्जना कार्कीले जानकारी दिनुभयो । दिसाजन्य लेदो व्यवस्थापनमा खटिदै आएका व्यक्तिहरुका लागि कोभिड – १९ र वासका बिषयमा सामान्य जानकारी प्रदान गर्ने, सेवा प्रदान गर्ने क्रममा अपनाउनै पर्ने सावधानी र कोरोना रोकथामका उपायहरुबारे जानकारी गराउने तथा पिपिईको प्रयोग र निसंक्रमण गर्ने विधिका बिषयमा ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा काठमाडौ उपत्यकाभित्र दिसाजन्य लेदो संकलन तथा विसर्जन गर्ने सेवा प्रदान गर्दै आएका १४ जना सहभागी थिए । अभिमुखीकरणका क्रममा प्रायः छोइरहने बस्तुहरु, मोटरको पार्टस्हरु, सिट, पेटी, स्टेरिङ, गियर, ढोकाको ह्याण्डल, पाइप तथा दिसाजन्य लेदो खाली गर्ने पाइप, पेट्रोल पम्प तथा सर्भिसिङ सेन्टरमा जाँदा अपनाउनुपर्ने सुरक्षात्मक उपायहरुका बिषयमा समेत प्रश्न सोधेका थिए ।

अभिमुखीकरण क्रममा घरबाट निस्कनु अघि, कामको शीलशीलामा र घरमा फर्किनु अघि अपनाउनुपर्ने सुरक्षात्मक उपायको बिषयमा पनि अभिमुखीकरण कार्यक्रममा जानकारी गराईएको थियो ।

 

भौतिक दुरी कायम गरेर सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रमको अन्त्यमा  BRODA को सहयोगमा हरेक सहभागीलाई एक एक सेट पिपिई प्रदान गरिएको थियो । पिपिई प्रयोग र निसंक्रमण तथा विसर्जनको बारेमा समेत अभिमुखीकरणकै क्रममा जानकारी गराईएको तालिम प्रशिक्षक कार्कीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार