बेरोजगार पर्वतीय गाईडलाई हिमाल सफाइ अभियानमा लगाउने तयारी

 1598 पटक हेरिएको
🔗
20
Shares

काठमाडौ : कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बेरोजगार बनेका पर्वतीय पथप्रदर्शक तथा सहयोगीहरुको संलग्नतामा हिमाल सफाइ अभियान सुरु गर्ने तयारी गरिएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को पहलमा सरकारले साउन दोस्रो साताबाट हिमाल सफाइ अभियान गर्न लागेको हो । कोरोना महामारीका कारण बेरोजगार बनेका पर्वतारोही, पथप्रदर्शकदेखि सहयोगीहरुलाई जीवन निर्वाहका लागि वैकल्पिक मार्गतिर जानबाट रोक्ने र हिमाललाई सफा राख्ने उदेश्यले हिमाल सफाइ अभियान सुरुवात गर्न लागेको एनएमएका अध्यक्ष सन्तवीर लामाले बताउनुभयो ।

उहाँका अनुसार यसका लागि साउन दोस्रो साताबाटै हिमाल सरसफाइदेखि अन्य अभियानको थालनी गर्ने तयारी भईरहेको छ । यस सम्बन्धमा तयारी अन्तिम चरणमा पुगेको छ । हिमाल सफाइ अभियानबारे सरकारले चाडै नै घोषणा गर्नेछ । सफाइको शुरुवात साना हिमालबाट गर्ने र त्यसपछि ठूला हिमाल सफा गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष लामाका अनुसार अभियानमा हिमाल सफाइदेखि आरोहण तथा उच्च पासेजहरु र अफ्ठ्यारा बाटाहरुमा सुरक्षित पदयात्रा तथा आरोहण मार्गको लागि आवश्यक चेन एङ्कर फिक्सिङ, साइनेज जडान, नयाँ पोर्टर सेल्टरको निर्माण, पुराना सेल्टरको पुनर्निर्माण लगायत काम हुनेछन् । यी कामका लागि अन्तर्राष्ट्रिय पथ प्रदर्शकदेखि संघ सँग आबद्द उच्च हिमाली भेगमा काम गर्ने बुक होल्डर, पर्वतीय पथप्रदर्शक, तालिम प्राप्त गाइड र अन्य सहयोगी लगायत यस क्षेत्रमा संलग्न सबै कामदार संलग्न हुनेछन् ।

पर्यटन बिभागको संयोजकत्वमा गरिने यी काममा बन तथा वातावरण मन्त्रालयदेखि स्थानीय निकाय संलग्न हुनेछन् । यसका लागि आवश्यक बजेटको ब्यवस्था समेत भइसकेको एनएमएले जनाएको छ ।

पहिलो चरणमा दुई सयदेखि तीन सय जनालाई क्षेत्र छुट्याएर परिचालन गर्ने योजना रहेको संघका महासचिव कुलबहादुर गुरुङले बताउनुभयो । ‘प्रायः हिमाली क्षेत्रमै रमाउने हाम्रा आरोही र सहयोगी साथीहरु कोभिड – १९ महामारीका कारण लामो समय कस्टकर दैनिकीमा बस्नु बाध्य हुनुभएको छ’, महासचिव गुरुङ भन्नुहुन्छ, ‘यो अभियानबाट उहाँहरु आफ्नो काममा मात्रै फर्कनु हुनेछैन, आम्दानी त हुने नै छ । राज्यलाई पर्वतीय पर्यटनमा टेवा पुर्‍याउने अवसर समेत मिल्नेछ ।’

हिमाल सफाइ कार्यक्रम पर्यटन मजदूरका लागि राहत सरह हुने महासचिव गुरुङले बताउनुभयो । ‘अहिले राज्यले कोभिड – १९ महामारीबाट समस्यमा परेका पर्यटन मजदूरलाई उचित राहत पुर्‍याउन सकिरहेको छैन । हिमाल सफाइ कार्यक्रम क्यास फर वर्कको अवधारणामा हुनेछ । यसबाट काम पनि हुनेछ, त्यसमा संलग्नहरुका लागि आम्दानी पनि हुने छ’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार