कोभिड – १९ को जोखिम घटाउन स्वच्छता सामग्री

🔗
4
Shares

विनोद महतो, जनकपुरधाम : अहिले सारा संसार कोरोना भाइरस (कोभिड – १९) को महामारीसँग जुधिरहेको छ । विश्वका अधिकांश देश कारोनासँग लड्न अर्बौ अर्बको खर्चिसकेका छन् । कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका सबै शक्तिहरु एकजुट भएर लागि परेका छन् । यसका नियन्त्रण र यसबाट बच्ने उपाय तथा भ्याक्सिनको खोजी र अनुसन्धान पनि तिव्रगति भईरहेकै छ । तर पनि कोभिड – १९ को महामारी विश्वसामु मानवजातीको लागि एउटा ठूलो स्वास्थ्य चुनौती बनेर खडा भएको छ । जसको कारण अधिकांश देशको सबै क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।

कोभिड – १९ को सम्भावित संक्रमणबाट मानवजातीलाई बचाउन अहिले यसको कुनै खोप र औषधी समेत पत्ता नलागेको अवस्था छ । यद्यपी यसको खोज र अनुसन्धान भने जारी नै छ । यस्तो अवस्थामा यस कोभिड – १९ बाट बच्न र बचाउन उच्च सर्तकता, सावधानी र स्वच्छता एवं सरसफाइको आनीबानी नै अहिलेको अचुक उपाय हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सरसफाइ र स्वच्छताका माध्यमले नै अहिलेको बढ्दो कोभिड – १९ को संक्रमण दरलाई घटाउन सकिन्छ । यसको अलावा भीडभाड नगर्ने, नजाने, एकअर्कासँग भौतिक दुरी कायम गर्ने, स्वास्थ्य सावधानीहरु अपनाउने लगायतको उपायहरुले नै कोरोनाको संक्रमण दरलाई घटाउन सकिने भएकाले यसमा मानवजातिले विशेष ध्यान दिन र सतर्कता अपनाउन जरुरी रहेको विश्व स्वास्थ्य संगठनले पनि पटक पटक अपिल गर्दै आइरहेको छ ।
हालको यसै कोभिड – १९ को संक्रमणको अवस्थालाई परास्त गर्न धेरै संघसस्था, स्वास्थ्यकर्मी, अभियानकर्मीहरु लागि परेका छन् । यसैको एक कडी बनेको छ, जि.एस.एफ.यूएन ह्याविट्याट । जो अहिले नेपालमा कोभिड १९ को संक्रमणको जोखिम घटाउन र स्वास्थ्य, सरसफाइ तथा स्वच्छताका लागि अभियान चलाई रहेको छ । देशमा वितगमा खुल्ला दिसामुक्त अभियानको साझेदारी गरेका यूएन ह्याविट्याट अहिले पूर्ण सरसफाइ अभियान कार्यक्रममा समेत साझेदारी गरिरहेको अवस्था छ ।


पूर्ण सरसफाइ अभियानको अगुवाई गरिरहेकै अवस्थामा कोभिड – १९ आएपछि अहिले यसैलाई लक्षित गरी अभियानका क्रियाकलापहरु पनि केन्द्रित गरिएको छ ।

जि.एस.एफ.यूएन ह्याविट्याटले अहिले पूर्ण सरसफाइ अभियानको साझेदारी गरेका देशैभरिका स्थानीय तहमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सरसफाइ र स्वच्छताका लागि सरसफाइ र स्वच्छता सामग्री समेत सहयोग गरिरहेको जनाएको छ । जस अन्तर्गत तराई मधेशको झापा, मोरङ्, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको कार्यक्षेत्र भएको पालिकाहरुका सरसफाइ र स्वच्छतामा सामग्रीहरु हस्तान्तरण गर्ने कार्य भईरहेको यसको संयोजनकर्ता तथा यूएन ह्याविट्याटका रौतहट जिल्ला संयोजक दिपेन्द्र ठाकुरले बताउनुभयो ।

यसै अन्तर्गत शुक्रवार जि.एस.एफ.यूएन ह्याविट्याटसँगको साझेदारीमै धनुषामा अभियानको सहजीकरण गरिरहेको समाज उत्थान युवा केन्द्र (सुयुक) को रोहवरमा तीन वटा स्थानीह तह (पालिका) मा सरसफाइ र स्वच्छता सामग्री हस्तान्तरण गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, र जनकनन्दनी गाउँपालिकामा सरसफाइ र स्वच्छतामा सामग्रीहरु हस्तान्तरण गरिएको यूएन ह्याविट्याटका धनुषा जिल्ला संयोजक गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

उक्त पालिकाहरुको स्वास्थ्य शाखामा हस्तान्तरण गरिएको सरसफाइ तथा स्वच्छता सामग्रीहरुमा १० लिटर क्षमताको धारा जडान गरिएको बाल्टिन २ थान, जग २ थान, हातधनुे साबुन २४० पिस, ह्याण्ड वास १० पिस, ह्याण्ड सेनिटाइजर १० पिस, स्यानेटरी प्याड २५ प्याकेट, प्लाष्टिकको ४० केजीको कभर सहितको डस्टविन २ थान, सर्जिकल मास्क ५ सय पिस, ग्लोभ्स १०० पिस, रियुजेवल थिक रबर ग्लोभ्स २ थान रहेको छ ।


धनुषाधान नगरपालिकामा पालिकाकी उपमेयर विद्यादेवी भुजेल र पालिकाका स्वास्थ्य संयोजक शैलेन्द्र कुमार यादवले संयुक्त रुपमा उक्त सामग्रीहरु बुझ्नुभएको थियो भने लक्ष्मीनियाँ गाउँपालिकामा उपध्यक्ष ईनद्रकला यादव, प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादव र नगर स्वास्थ्य संयोजक मनोहर यादवले उक्त सरसफाइ र स्वच्छताका सामग्रीहरु बुझनु भएको थियो ।

पालिकाहरुको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, केन्द्र र स्वास्थ्यकर्मीमा कोभिड – १९ को हुन सक्ने सम्भावित संक्रमण र जोखिमबाट बचाउन तत्काल उक्त सरसफाइ र स्वच्छता सामग्रीहरु सहयोग गरिएको धनुषा संयोजक सुवेदीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार