नमुना सरसफाइ वस्तीमा पुग्दा उपमेयर बनिन् दंग

🔗
20
Shares


सर्लाही : हरिवन नगरपालिकाका उपप्रमुख रेणुका पौडेल हरिवन – १ स्थित भोक्टेनीमा पुग्दा सर्वसाधारणको घर अगाडि फोहोर जम्मा गर्ने बाँसको परम्परागत डस्टवीन, चर्पीमा हर्पिक, ब्रस, चप्पल राखिएको, हात धुने प्लाटफर्म, भाँडा सुकाउने र्‍याक र चर्पी नहुनेहरुले धमाधम चर्पी बनाइरहेको देख्दा दङ्ग पर्नुभयो । स्थानीय शोभा लुङ्गेलीको चर्पी अनुगमन गर्दै पौडेलले व्यक्तिगत र घरायसी सरसफाइको क्षेत्रमा नमुना वस्तीमा आएको सकारात्मक परिवर्तनको प्रशंसा समेत गर्नुभयो ।

बागमती सेवा समाज नेपालद्वारा युएन ह्याविट्याटको सहयोग संचालित पूर्ण सरसफाइ परियोजना अन्तर्गत नमुना सरसफाइ वस्ती घोषणा गर्नु पूर्व आज असोज १३ आयोजना गरिएको अनुगमनका क्रममा उपप्रमुख पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“सरसफाइका सूचकहरु पालना गर्दा मानिसको स्वास्थ्य र प्रतिष्ठा वृद्धिमा ठूलो सहयोग मिल्छ ।” अनुगमन पश्चात आयोजित संक्षिप्त अन्तरक्रियामा उपप्रमुख पौडेलले भन्नुभयो “आफ्नो घर, समुदाय सफा, स्वच्छ र हराभरा बनाउन सबैले आफ्नो आफ्नो ठाउँमा भूमिका निर्वाह गरौं ।”

साथै, सरसफाइ भन्ने वित्तिकै परम्परागत रुपमा महिलासँग जोडिने मानसिकता विद्यमान रहेको अनुभव बताउँदै उपप्रमुख पौडेलले भन्नुभयो “अब सरसफाइ अभियानलाई जीविकोपार्जनसँग जोडेर लैजानु पर्छ, आय आर्जनका क्रियाकलापमा संलग्न हुनु पर्छ, यसका लागि हरिवन नगरपालिका सहयोग गर्न सदैव तत्पर छ ।”
हरिवन नगरपालिका भित्रका वडा नं. १, ७, ८ र १० का नमुना वस्तीमा आयोजना गरिएको उक्त अनुगमन कार्यक्रममा नमुना वस्तीका व्यक्तिहरुले परियोजना लागु भए पश्चात समुदायमा सरसफाइको क्षेत्रमा आएको सकारात्मक परिवर्तन बारे अनुभव प्रस्तुत गर्नुभएको थियो ।


यसैगरी बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले संस्थाले विभिन्न सहयोगी निकायहरुसँग समन्वय गरी नमुना वस्तीमा सरसफाइ र स्वच्छताका गतिविधिहरुलाई निरन्तरता दिएको बताउनुभयो । सरसफाइ र स्वच्छता सम्बन्धी तालिम मात्र नभई हाइजिन किट, बाल्टी, ह्याण्डवास आदि सामाग्री पनि समुदायलाई सहयोग गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा टोलबासीहरुको घर घरमा पुगी सरसफाइको अवस्था कस्तो छ भनी सूचकमा आधारित भइ टोलीद्वारा अनुगमन गरिएको थियो ।

नमुना सरसफाइ वस्ती घोषणा पूर्व नगरपालिका स्तरबाट आयोजना गरिएको उक्त अनुगमनमा वडाध्यक्षहरु रामबहादुर क्याप्छाकी, नेत्र प्रसाद मैनाली, यज्ञविनोद ढुंगेल, शम्भु प्रसाद मैनाली, हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शशिकान्त सिंह, वास फोकलपर्सन दिपेन्द्र उप्रेती, शाखा अधिकृत इश्वर आचार्य लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा भेटिएका राम्रा पक्षको प्रशंसा गर्दै केही सुधार गर्नु पर्ने पक्षहरु औंल्याई टोलीले सुझाव समेत दिएको छ भने सम्बन्धित वडाका वडा अध्यक्ष, नमुना वस्तीका पदाधिकारी लगायतले समयमै सरसफाइका सूचक पुरा गरी नमुना वस्ती घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार