साबुनपानीले हात धुने अभियानका लागि ७ बुँदे घोषणा पत्र जारी

🔗
12
Shares


सर्लाही : सर्लाही जिल्लाका सबै स्थानीय तहमा सरसफाइ र स्वच्छताको अवस्थामा सुधार ल्याउन “साबुनपानीले हात धुने अभियानको ७ बुँदे सर्लाही घोषणा पत्र” जारी गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सर्लाहीका अध्यक्ष तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा बसेको बैठकले साबुनपानीले हात धुने अभियान सञ्चालन गर्न सर्लाही घोषणा पत्र जारी गरेको हो ।

घोषणा पत्रमा जिल्लाका सबै घरधुरीले साबुनपानीले पटक पटक हात धुने बानीको विकास गर्ने, प्रत्येक घरमा साबुनपानीले हात धुने अलग स्थान निर्माण गर्ने, जिल्ला स्थित सबै सरकारी, गैरसरकारी, वित्तीय संस्था, विद्यालय, उद्योग, कलकारखाना आदिले साबुनपानी सहितको हात धुने स्थानको निर्माण गरी सेवा प्रवाह गर्ने, साबुनपानीले हात धुने बानीको विकासका लागि स्थानीय तहबाट आवश्यक बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने आदि समावेश गरिएको छ ।

बैठकले विश्व हात धुने दिवस २०२० को अवसरमा २० वटै स्थानीय तहमा अक्टोवर १५ का दिन विहान १०ः३० बजे एकैसाथ साबुनपानीले हात धुने अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

साबुनपानीले हात धुने अभियानको ७ बुँदे सर्लाही घोषणा पत्र :

१. सर्लाही जिल्लाको १,३५,३२० घरधुरीले अनिवार्य रुपमा साबुनपानीले पटक पटक हात धुने बानीको विकास गर्ने ।

२. साबुनपानीले हात धुने बानी विकासका लागि प्रत्येक घरधुरीले पानीको श्रोत नजिक हात धुने स्थान निर्माण गर्ने ।

३. सर्लाही जिल्लाका सबै घरधुरीले अनिवार्य साबुनपानीले पटक पटक हात धुने बानीको विकासका लागि पालिका तहमा स्वयंसेवक तथा स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने ।

४. जिल्ला स्थित सम्पूर्ण सरकारी, गैरसरकारी, वित्तीय संस्था, शैक्षिक संस्था, निजी तथा सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थ, उद्योग, कलकारखाना, होटल लगायतका ठाउँहरुमा साबुनपानी सहितको हात धुने स्थानको निर्माण गरी सेवा प्रवाह गर्ने ।

५. सबै पालिकाले साबुनपानीले हात धुने अभियानलाई व्यापक रुपमा संचालन गरेर सबैले साबुनपानीले हात धुने राष्ट्रिय अभियान (Hand Hygiene for All) लाई सफल पार्ने ।

६. साबुनपानीले हात धुने बानी विकासका लागि पालिका तहबाट आवश्यक बजेट विनियोजन गरी कार्यक्रम संचालन गर्ने ।

७. विश्व हात धुने दिवस अक्टोवर १५, २०२० का दिन पालिका तहमा विशेष कार्यक्रमको आयोजना गर्ने र एकै समयमा विहान १०ः३० बजे एकैसाथ हात धुने अभियान संचालन गर्ने ।

सर्लाही जिल्लाका सबैजसो नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सम्मिलित उक्त बैठकले साबुनपानीले हात धुनाले कोरोना भाइरस लगायतका संक्रामक रोगबाट जोगिन सकिने भएकोले साबुनपानीले हात धुने कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउने निर्णय गरेको हो । सो कार्यक्रममा बोल्दै अधिकांश स्थानीय तहका प्रमुखहरुले साबुनपानीले हात धुने अभियानलाई सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त बैठकमा खुला दिसामुक्त घोषणा पश्चातको गाउँपालिका तथा नगरपालिकाहरुको सरसफाइको अवस्थामा समेत समीक्षा गरी हाल देखिएका सरसफाइको चुनौतीलाई सम्बोधन गर्नका लागि २०७७ असोज ३० गतेदेखि ३ महिने सरसफाइ अभियान समेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बैठकमा सरसफाइको क्षेत्रमा परियोजना सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरु बागमती सेवा समाज नेपाल, ग्रामीण नारी उत्थान संघ, ग्रामीण सामुदायिक विकास केन्द्र आदिले संचालन गरिरहेका गतिविधिको बारेमा समीक्षा गरिएको थियो ।

यसैबीच जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीका प्रमुख जानकी शरण भगतका अनुसार सर्लाही जिल्लाको पूर्ण सरसफाइ कार्यविधि निर्माण गरिने भएको छ जसका लागि डिभिजन कार्यालयका फोकल पर्सन इन्जिनियर शिवशंकर रौनियारको संयोजकत्वमा ३ सदस्सीय कार्यविधि मस्यौदा समिति समेत गठन गरिएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार