
सेप्टिक ट्यांकी फोहरपानी भण्डारण र प्रशोधन गर्ने एक प्रकारको संरचना हो । सामान्यतया यसले फोहरपानीलाई करिब ३०–४० प्रतिशत मात्र प्रशोधन गर्दछ । तसर्थ यसबाट निस्किएको लेदो वा फोहरपानीलाई पुनःप्रशोधनको आवश्यकता पर्दछ । शौचालयबाट बगेको दिसा र फोहरपानी सेप्टिक ट्यांकीमा जम्मा भएपछि दिसाजन्य लेदोको रुपमा परिणत हुन्छ ।
उक्त दिसाजन्य लेदोलाई नियमित रुपमा रित्याएर पुनःप्रशोधन गरी सुरक्षित विसर्जन वा पुनः प्रयोग गरिन्छ भने सेप्टिक ट्यांकीबाट निस्केको फोहरपानीलाई सोकपिट मार्फत् जमिनमुनि पठाइन्छ वा ढलमार्फत् प्रशोधन केन्द्रमा लगेर पुनःप्रशोधन गरि सुरक्षित विसर्जन वा पुनःप्रयोग गरिन्छ । “सोकपिट” पानीलाई सुरक्षित विधिद्वारा जमिनमुनि पठाउनको लागि बनाइने एउटा सरल प्रविधि हो । सोकपिट बेग्लै संरचना भएपनि यसलाई सेप्टिक ट्यांकीको अभिन्न अंगको रुपमा लिइन्छ ।
सेप्टिक ट्यांकीमा हुनुपर्ने ३ आधारभुत गुण
♦ सेप्टिक ट्यांकी पानी नछिर्ने वा नरसाउने (Water Seal) हुनुपर्दछ ।
♦ सेप्टिक ट्यांकी २ खण्डे र न्युनतम १.२ मिटर गहिरो हुनुपर्दछ ।
♦ सेप्टिक ट्यांकीको साथमा सोकपिटको व्यवस्था हुनुपर्दछ ।

सेप्टिक ट्यांकी सामान्यतया दुईखण्डे आयतकारको संरचना हो । यसको लम्बाइ, चौडाइ भन्दा २ देखि ४ गुणा लामो हुन्छ भने गहिराइ न्यूनतम १.२ मिटर हुन्छ । यसको इन्लेट तिरको खण्ड दुई तिहाई हुन्छ भने आउटलेट तिरको खण्ड एक तिहाई हुन्छ । यी दुई खण्डलाई गारोले छुट्याइएको हुन्छ जसलाई “ब्याफल वाल” भनिन्छ ।
ठुलो खण्डबाट फोहरपानी सानो खण्डमा पठाउनको लागि व्याफल वालमा निकास प्वालको व्यवस्था गरिएको हुन्छ । सेप्टिक ट्यांकीबाट निस्किएको आंशिक प्रशोधन भएको फोहरपानीलाई सोकपिटमा पठाइन्छ । सोकपिट सामान्यतया १.५ मिटर गहिराइको गोलाकार खाल्डो हो ।
यसको गारो मौरीको घारजस्तो प्वालहरु भएको अर्थात् हनिकम्ब (Honeycomb) प्रकारको हुन्छ । खाल्डोलाई पुर्णतयाः ईंटाको ठुल्ठुला टुक्रा वा ठुलो साइजको गिट्टीले भरेको हुन्छ ।

सेप्टिक ट्यांकीमा फोहरपानी तीन तरिकाबाट प्रशोधन हुन्छः तैरिएर, थिग्रिएर र कुहिएर । फोहरपानी सेप्टिक ट्यांकीभित्र प्रवेश गरेपछि केहि समयको लागि भण्डारण हुन्छ । यस क्रममा फोहरपानीसँगै मिसिएर आएका गह्रुँगो वस्तुहरु पिंधमा थिग्रिन्छ भने तेलिय र हलुका वस्तु पानीको सतहमाथि तैरिरहन्छ । अनि तैरिन र थिग्रिन नसकेको वा कुहिन लामो समय लाग्ने वस्तुहरु फोहरपानीमा धमिलो पनाको रुपमा रहन्छ ।
यसरी थिग्रिएको, तैरिएको एवम् थिग्रिन र तैरिन नसकी फोहरपानीमै रहेको वस्तुहरुमध्ये कुहिने खालको वस्तु जैविक प्रक्रियाबाट कुहिएर लेदो र मिथेन ग्यासमा परिणत हुन्छ । यस क्रममा उत्पादन भएको लेदो (Sludge) को रुपमा पिंधमा जम्मा हुन्छ र ग्यास उडेर जान्छ भने नकुहिने हलुका वस्तु तैरिएर स्कम (Scum) बन्छ । प्रशोधित फोहरपानीलाई सेप्टिक ट्यांकीको आउटलेट मार्फत् सोकपिटमा पठाइन्छ । सोकपिटमा प्रवेश गरेको फोहरपानी यसको पिंध र भित्ता मार्फत् सोसिएर जमिनमुनि सुरक्षित विसर्जन हुन्छ ।
फोहरपानीलाई सोकपिटको केन्द्र भागमा लगेर छोडिन्छ जसले पानीलाई चारैतिर एकनासले फैलिन मद्दत गर्दछ । सोकपिटले पानीमा भएको जैविक प्रदुषणलाई केहि हदसम्म प्रशोधन समेत गर्दछ ।


सेप्टिक ट्यांकी चाँडो वा कहिल्यै नभरियोस् भनेर ठूल्ठूलो संरचना बनाउने एवम् सेप्टिक ट्यांकीको गारो र पिंध पानी रसाउने खालको बनाउने आम प्रचलन छ । यो बुझाई र अभ्यास सरासर गलत हो । संरचना ठूलो हुँदैमा ढिलो वा कहिल्यै नभरिने होइन । वास्तवमा सेप्टिक ट्यांकीले प्रशोधन गर्न नसकेर, सेप्टिक ट्यांकीबाट निस्किने पानीले उचित निकास नपाएर वा वर्षा/भूमिगत पानी छिरेर सेप्टिक ट्यांकी चाँडो भरिन्छ ।
तसर्थ सेप्टिक ट्यांकी छिटो भरिने समस्या न्यूनिकरणको लागि सहि तरिकाले डिजाइन गरी पानी नछिर्ने र सोकपिट सहितको सेप्टिक ट्यांकी निर्माण गर्नु अत्यावश्यक हुन्छ । सेप्टिक ट्यांकीको साइज मुलतः प्रयोगकर्ताको संख्या, प्रयोग हुने पानीको मात्रा (Water Consumption), रित्याउने अवधि (Desludging Period) र पानी अवधारण समय (Hydraulic Retention Time) मा भर पर्दछ । सामान्यतयाः सेप्टिक ट्यांकीको डिजाइनको लागि प्रयोग हुने पानीको मात्रा १०० लिटर प्रतिव्यक्ति प्रतिदिन, रित्याउने अवधि २ वर्ष र अवधारण समय २४ घण्टा लिने गरिन्छ ।

सेप्टिक ट्यांकी स्थानियस्तरमा उपलव्ध हुने निर्माण सामग्री जस्तै ईंटा, ढुंगा, गिट्टी, बालुवा र दक्ष जनशक्ति प्रयोग गरेर निर्माण गर्न सकिन्छ । आजभोलि प्लाष्टिक वा फाइबरग्लास र सिमेन्ट कंक्रिटबाट निर्मित तयारी सेप्टिक ट्यांकी समेत उपलव्ध भइरहेको छ ।
सेप्टिक ट्याङ्की सम्बन्धी वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले प्रकाशन गरेको हाते पुस्तिकाबाट ।


1488 पटक हेरिएको 

