
काठमाडौ : खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले खानेपानी तथा सरसफाइ क्षेत्रमा संघीयता कार्यान्वयनको व्यवहारिक अभ्यास गरिरहेको छ । आयोजनाले तीनै तहमा संस्थागत संरचना निर्माण गरी आयोजनाको कार्यान्वयन गरिरहेको हो ।
यो आयोजना कर्णाली प्रदेशमा प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका र सल्यानको शारदा नगरपालिका तथा सुदुरपश्चिम प्रदेशमा डोटीको दिपायल सिलगढी नगरपालिका र बर्दोगोरिया गाउँपालिका तथा कैलालीको जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका गरी ६ वटा स्थानीय तहमा कार्यान्वयन भईरहेको छ ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले पालिका स्तरमा स्थानीय आयोजना कार्यान्वयन एकाइ स्थापना गरेको छ । पालिका भित्र जलवायु अनुकुलन, सुधारिएको तथा सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच बृद्धिका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्न कार्यान्वयन इकाइहरु जिम्मेवार हुन्छन् । आयोजनाको कुल लगानी मध्ये ७५ प्रतिशत भन्दा बढी लगानी यसै क्षेत्रमा हुने आयोजनाले जनाएको छ ।
खानेपानी तथा सरसफाइ क्षेत्रबाट संघीयतालाई सहयोग गर्ने आयोजनाको उद्देश्य अनुरुप प्रादेशिक तहमा प्रादेशिक निर्देशक समिति रहन्छ । समिति मार्फत प्रदेश सरकारले एक जलाधार क्षेत्रमा रहेका स्थानीय तहहरुलाई वृहत जलवायु अनुकुलन उपायहरुको अबलम्बन गर्नका लागि सहजीकरण गर्दछ ।
यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत आयोजना व्यवस्थापन एकाइ स्थापना भएको छ । आयोजनाको समन्वय, व्यवस्थापन सुपरिवेक्षण तथा प्रतिवेदन लगायत समग्र जिम्मेवारी आयोजना व्यवस्थापन एकाइको हो । यो एकाईले क्षेत्रगत सुशासन तथा संस्थागत क्षमता सुदृढिकरण र आयोजना व्यवस्थापन, एकीकृत जलस्रोत व्यवस्थापन र जलाधार व्यवस्थापनका माध्यमबाट खानेपानी र सरसफाइ पूर्वाधारमा जलवायु जोखिम तथा त्यसबाट पर्न सक्ने प्रभावहरुको न्यूनीकरणका कार्यक्रमहरु कार्यान्वयन गर्दछ भने जलवायु अनुकुलन, सुधारिएको तथा सुरक्षित खानोपनी तथा सरसफाइ सेवाको पहुँच बृद्धिका लागि कार्यक्रमहरुको तर्जुमा तथा कार्यान्वयनका लागि पालिकाहरुलाई सहयोग गर्दछ ।
आयोजनाको उपल्लो तहको संस्थागत संरचना हो ‘आयोजना निर्देशक समिति’। खानेपानी मन्त्रालयमा गठन भएको आयोजना निर्देशक समितिले आयोजनाको मार्गदर्शन, अनुगमन तथा कार्यान्वयनमा अन्तर मन्त्रालय समन्वयको काम गर्दछ ।
संघीय परिप्रेक्ष्यमा सेवा प्रवाहका लागि सुशासन तथा संस्थागत क्षमता सुदृढिकरण गर्ने र आयोजना सञ्चालित पालिकाहरुमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवामा पहुँच अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । आयोजनाको गत २०७९ माघ २७ गते शुभारम्भ भएको घोषणा गरिएको थियो ।
अपेक्षित प्रतिफल
‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ ले क्षेत्रगत सुशासन तथा संस्थागत क्षमता सुदृढिकरण र आयोजना व्यवस्थापन, एकीकृत जलस्रोत व्यवस्थापन र जलाधार व्यवस्थापनका माध्यमबाट खानेपानी र सरसफाइ पूर्वाधारमा जलवायु जोखिम तथा त्यसबाट पर्न सक्ने प्रभावहरुको न्यूनीकरण एवं जलवायु अनुकुलन, सुधारिएको तथा सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच बृद्धिका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्नेछ ।

यसका लागि १० करोड अमेरिकी डलर लगानी गर्नेछ । ती मध्ये ८० प्रतिशत रकम विश्व बैंकले सहुलियतपूर्ण ऋण प्रदान गर्नेछ भने बाँकी २० प्रतिशत नेपाल सरकारको अनुदान हुनेछ । २०८५ असार ३१ गतेसम्म कार्यान्वयन हुने आयोजनाबाट निम्न प्रतिफलहरु हासिल हुने अपेक्षा गरेको छ ।
— खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालित ६ वटा पालिकाहरुमा पालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता एकाईहरु पूर्ण रुपमा सञ्चालन भएको हुनेछन् ।
— कम्तीमा २५ प्रतिशत महिला कर्मचारी सहित दुई वटा पालिकाहरुमा व्यवसायिक खानेपानी तथा सरसफाइ सेवा प्रदायकहरुले सेवाहरु सञ्चालन गरेका हुनेछन् ।
— खानेपानी तथा ढल व्यवस्थापन विभागमा नियमन तथा व्यवसायिक सहयोग शाखा स्थापना भई सञ्चालनमा आएको हुनेछ ।
— ५० प्रतिशत महिला सहित ४ लाख व्यक्तिहरुलाई जलवायु परिवर्तनको जोखिम वहन गर्न सक्ने क्षमताको सुरक्षित खानेपानी सुविधामा पहुँच भएको हुनेछ ।
— ५० प्रतिशत महिला सहित १ लाख ४० हजार व्यक्तिहरुलाई सुरक्षित तरिकाले व्यवस्थापन गरिएको, जलवायु परिवर्तनको जोखिम वहन गर्न सक्ने क्षमताको सरसफाइ सुविधामा पहुँच भएको हुनेछ ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाको जानकारी पुस्तिकाबाट ।


618 पटक हेरिएको 

