भरतपुरमा थपियो अर्को खानेपानी आयोजना, पार्वतीपुर खानेपानी आयोजनाको उदघाटन

  वास खबर सम्वाददाता  482 पटक हेरिएको


चितवन : ९३ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगिसकेको भरतपुर महानगरपालिकामा थप अर्को योजना सम्पन्न भएको छ । पार्वतीपुर खानेपानी आयोजनाको निर्माण सम्पन्न भई बिहीबार मात्र नगर प्रमुख रेणु दाहालले उदघाटन गर्नुभयो । २२ करोड पाँच लाखको लागतमा निर्माणाधीन पार्वतीपुर खानेपानी आयोजनाले सेवा प्रदान गर्न थालेपछि खानेपानीमा पहुँच पुगेको जनसंख्या अझ बृद्धि भएको छ ।

छ वर्ष अघिसम्म ५७ प्रतिशत बासिन्दा मात्र खानेपानीको पहुँचमा रहेको महानगरपालिका भित्र २६ ठूला आयोजना सम्पन्न भएपछि ९३ प्रतिशत नागरिकमा खानेपानी सेवा पुगेको हो । हाल निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरु सम्पन्न हुँदा ९७ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुग्ने भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताउनुभयो ।

महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना निर्माण गरिरहेको छ ।

चालु आर्थिक वर्षमा रु तीन करोड महानगरपालिकाले बिनियोजन गरेको छ । यसबाट बोर्डका मात्रै झण्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन् । भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । झण्डै ४० ठूला–साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा शतप्रतिशत खानेपानी पु¥याउने गरी काम भइरहेको बताउनुभयो । हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो एक वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकोमा पानीको पहुँच पुग्नेछ । “हाम्रो दोस्रो कार्यकाल सकिनु पूर्व नै शतप्रतिशत उपभोक्ताकोमा पानी पुर्याउँदै छौँ ।” उहाँले भन्नुभयो ।

कुन आयोजनामा कति लगानी ?

शारदानगर खानेपानी आयोजनामा ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा २३ करोड २५ लाख खर्च हुँने जनाइएको छ ।

त्यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा पाँच करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा ११ करोड ३५ लाख, भरतपुर १० मा एउटै ट्याङ्की नौ लाख लिटरको निर्माण गरिएको छ । जुन नेपालकै सबैभन्दा ठूलो ट्याङ्की हो ।कैलाशनगर–फूलबारी खानेपानी आयोजनामा आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा छ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा पाँच करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा छ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा चार करोड २७ लाख विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् ।

यस्तै देवनगर खानेपानी आयोजनामा पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा एक करोड खानेपानी आयोजनामा खर्च गरिँदैछ ।

देवघाट खनोपानी आयोजना एक करोड दुई लाख, चौकीडाँडा खानेपानी आयोजना भरतपुर २९ पाँच करोड ९५ लाख, ठिकुरा रामनगर–१ ७२ लाख र ढोडेनी खानेपानी आयोजना एक करोड पाँच लाखको लागतमा निर्माण भइरहेको छ । गौरीगञ्जमा झण्डै रु ४० करोडको लागतमा नयाँ आयोजना अघि बढाइँदैछ ।

महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताउनुभयो । उहाँले पहाडी र समथर भू–भाग सबै ठाउँमा पानीको पहुँच पुर्याउने काममा महानगर लागि परेको बताउनुभयो । “जनप्रतिनिधि आएपछि खानेपानी विस्तारमा भरतपुर अग्रणी रहेको छ ।” उहाँले भन्नुभयो ।

महानगरपालिकाको पहलमा प्रदेश र सङ्घीय सरकारले खानेपानी विस्तारमा सहयोग गरिरहेको उहाँले बताउनुभयो। खानेपानीमा सहज पहुँच पुग्न कठिन भएको रामनगर क्षेत्रमा महानगरले अहिले अस्थायी रुपमा खानेपानी उपलब्ध गराएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार