
तनहुँ : धाराको पानीमा एकाएक नमीठो गन्ध आयो । पानी सङ्लो भए पनि बेग्लै किसिमको गन्धले उपभोक्ताहरु हैरान बने । एक घरको धारामा मात्र होइन, खानेपानीका जत्ति उपभोक्ता थिए, ती सबैको धारामा दुर्गन्ध आए पछि खानेपानी उपभोक्ता समिति सम्म यो कुरा पुग्यो ।
खानेपानी उपभोक्ता समितिले प्रदुषित हुन सक्ने सम्भावित सबै ठाउँहरुमा हेर्दा खानेपानीको मुख्य ट्याङ्कीमा महिलाको शव भेटियो । यो घटना तनहुँको म्याग्दे गाउँपालिका –४ पीपलटारको हो । खानेपानीको मुख्य समस्या भएकै समयमा गत चैत्रमा खानेपानी ट्याङ्कीमा शव भेटिएपछि पिपलटारका बासिन्दाले पानी पिउन छाडे ।
खानेपानी ट्याङ्कीमा भेटिएको शव पोखरा महानगरपालिका –३३ बागमाराकी ४२ वर्षीया शान्ति श्रेष्ठको भएको पहिचान भयो । शव भेटिएको पानीको ट्याङ्की सफा गरे पनि पानी नखाने स्थानीयले बताएपछि उपभोक्ता समितिले नयाँ योजनाको सुरुवात गर्नुपर्ने भयो ।यसको पहलकदमी लिनुभयो तनहुँ क्षेत्र नम्बर १ का संघीय सांसद शङ्कर भण्डारीले । खानेपानीको व्यवस्था गर्न उहाँको पहलमा खानेपानी मन्त्रालयबाट ८० लाख रुपैयाँ बजेट विनियोजन भयो । त्यसपछि नयाँ खानेपानी निर्माणको काम अगाडि बढेको खानेपानी उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले बताउनुभयो ।
यसरी सम्भव भयो २ महिना भित्रै आयोजना सम्पन्न
खानेपानी आयोजनाको लागि बजेट सुनिश्चित थिएन । रातो किताबमा नपरे पनि पिपलटारको खानेपानीको लागि बजेट विनियोजन नगरी सुखै थिएन । त्यसैले विशेष परिस्थितिमा रकमान्तर गरेर पिपलटारको खानेपानीको लागि बजेट विनियोजन गरिएको थियो ।
बजेटको अख्तियारी प्राप्त हुँदा वैशाखको अन्त्य हुनै लागेको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख ई.चोक प्रसाद धिताल भन्नुहुन्छ ‘पिपलटारका बासिन्दालाई चालु आर्थिक बर्षभित्र पानी नखुवाई भएको थिएन, ट्याङ्कीमै शव भेटिएपछि उपभोक्ताको धारासम्म पुग्ने पाइप समेत फेर्नुपर्ने परिस्थिति थियो, तर समय पनि कम थियो ।’
यद्यपि कार्यान्वयन पक्षमा आयोजना कार्यालयले कुनै कमी हुन दिएन । आयोजना कार्यालयका इन्जिनियरहरु सुरेश आचार्य र सिडिई कुल प्रसाद पौडेल नियमित जस्तै खटिनुभयो । आयोजना प्रमुख धिताल भन्नुहुन्छ ‘खानेपानीको वैकल्पिक व्यवस्था नभएपछि उपभोक्ता समितिलाई पनि यो आयोजना जसरी पनि छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने थियो, अध्यक्ष सहित सबै पदाधिकारी र उपभोक्ताले समय दिन कुनै कमी गर्नु भएन । जसका कारण २ महिनामै ठूलो खानेपानी आयोजना सम्पन्न गर्न सफल भयौं ।’
स्रोत साधन सम्पन्न र इच्छा शक्ति भएमा छोटो समयमा पनि ठूलो आयोजनाको काम फत्ते गर्न सकिन्छ भन्ने यो ठूलो सिकाई पनि भएको आयोजना प्रमुख धितालले बताउनुभयो । ‘खानेपानी आयोजना निर्माणका लागि एउटै पक्ष मात्र सवल भएर पनि हुँदैन, सरोकारवाला सबै पक्षले आ आफ्नो भूमिका पूरा गर्यौं भने समयमै काम सम्पन्न गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो’ उहाँले भन्नुभयो ।
दुई महिनाकै अवधिमा खानेपानीको इन्टेक निर्माण र रिजर्भ्वायर ट्याङ्की, नयाँ पाइपलाइन बिछ्याउने र घर–घरमा धारा जडान गर्ने काम सम्पन्न भएको समितिका अध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिनुभयो । खानेपानी आयोजनाबाट १ सय ३८ घर परिवार लाभान्वित भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
सांसद भण्डारीले खानेपानीको लागि रकम विनियोजन गर्न मात्र नभई योजना सम्पन्न गर्नका लागि पनि उत्तिकै योगदान दिएको स्थानीय बताउँछन् । छोटो समयमै खानेपानी योजना सम्पन्न गरी खानेपानी वितरण गर्न थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
खानेपानी पुनःस्थापना आयोजनाको यही साउन ७ गते आइतबार सांसद भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको उपभोक्ता समितिले जनाएको छ ।


823 पटक हेरिएको 

