
पर्सा : वीरगन्ज महानगरपालिकाको वडा नं. १३ तेजारथ टोलका सुशील अर्याल ५५ बर्ष पुग्नुभयो । तराईको समथर सहर वीरगन्जमा आफ्नो जीवनकालमा चापाकल सुकेको उहाँलाई कहिल्यै थाहा भएन । अचम्मित हुँदै उहाँले भन्नुभयो ‘पानीको हाहाकार कहिल्यै अनुभव गरेको थिएन, सहजै पानी आउने चापाकलको पानी ठप्पै भएको छ ।
मोटरबाट पानी तान्दा पानि नआउने र घरको चापाकलबाट पनि पानी आउन बन्द भएपछि मध्य बर्षामा पनि बीरगन्जमा पानीको हाहाकार भएको छ । घरघरका चापाकल मात्र नभई सार्वजनिक स्थलमा रहेका चापाकलहरु पनि सुक्न थालेको अर्यालले बताउनुभयो ।
वीरगन्ज श्रीपुरका रामनरेश यादवले आफ्नो घरको चापाकलमा पनि एक साता देखि पानी आउन बन्द भएको बताउनुभयो । ‘साता दिनदेखि चापाकलमा पानी आएको छैन, मेरो छर छिमेकको घरमा पनि यस्तै समस्या छ’ उहाँले भन्नुभयो ।
महानगरपालिकाको विभिन्न वडामा खानेपानीको चरम समस्या भएपछि वीरगन्जको छिमेकी सखुवाप्रसौनी गाउँपालिकाले वीरगन्ज महानगर–१७ अलौंमा ट्यांकर मार्फत खानेपानी उपलब्ध गराएको छ । वीरगन्ज महानगरवासीलाई पिउने पानी समेत अभाव हुन थालेपछि सखुवाप्रसौनी गाउँपालिकाले छिमेकी धर्म निभाएको जनाएको छ ।
वीरगन्जको महानगरपालिका क्षेत्रभित्र कम गहिराईमा गाडिएका चापाकलबाट पानी आए पनि बढी गहिराईमा गाडेका चापाकलबाट पानी नआएको श्रीपुरका रामनरेश यादवले बताउनुभयो । ५० देखि ६० मिटर मात्र पाइप गाडिएको चापाकलहरुमा पानी आएको तर २ सयदेखि २ सय ५० मिटर सम्म पाइप गाडिएको चापाकलहरुमा भने पानी नआएको उहाँले बताउनुभयो । ‘सम्भवतः जमिन मुनि ५०/६० मिटरसम्म पानीको सतह छ, त्यसपछि तल पानी नै छैन’ उहाँले भन्नुभयो । वीरगन्जमा भूमिगत पानीको सतह बिग्रिएर पानी नै आउन बन्द भएको पहिलो अनुभव भएको उहाँले सुनाउनुभयो ।
खानेपानी संस्थानको धारा जडान गर्ने बढे
चापाकल र त्यसमा जोडिएका मोटरबाट पानी आउन बन्द भएपछि खानेपानी संस्थान वीरगन्जमा धारा जडानका लागि निवेदन दिनेको संख्या बढ्दो छ । खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख इन्जिनियर निरण महर्जनका अनुसार महानगरका चापाकलहरुमा पानी आउन छोडेपछि धारा जडान गर्न दैनिक ८० भन्दा बढीको निवेदन आउन थालेका छन् ।
उहाँले कार्यालयमा उपलब्ध जनशक्तिले दैनिक ४ देखि ८ वटा धाराको लाइन जडान गर्न सकिने बताउनुभयो । हाल संस्थानको कार्यालय वीरगन्जमा ग्राहकको संख्या ८ हजार १ सय मात्र रहेको र संस्थानको वीरगन्जमा रहेको पूर्वाधारबाट दैनिक १० देखि १२ घण्टासम्म ६२ लाख लिटरसम्म खानेपानी वितरण गर्न सकिने उहाँले बताउनुभयो ।
अनधिकृत डिप बोरिङ नगर्न महानगरपालिकाको सूचना
चापाकलको पानी सुक्न थालेपछि पानीको आपूर्तिका लागि डिप बोरिङ गर्न थालेको भन्दै वीरगन्ज महानगरपालिकाको कार्यालयले अनधिकृत रुपमा डिप बोरिङ नगर्न सूचना जारी गरेको छ । महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै इजाजत बिना डिप बोरिङ नगर्न आग्रह गरेको हो ।


940 पटक हेरिएको 

