
तनहुँ : मनहरी पिपलटार खानेपानी तथा सरसफाइ योजनाको उदघाटन गर्न तनहुँ पुग्नु भएका संघीय सांसद शङ्कर भण्डारी पञ्जेबाजाको तालमा छमछमी नाच्नु भयो । उहाँसँगै खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु र खानेपानी उपभोक्ताहरु पनि नाच्नुभयो ।
दुई महिनामै खानेपानी योजना सम्पन्न गरी खानेपानीको समस्याबाट मुक्ति मिलेपछि खुसीले गदगद भएका स्थानीयले सांसद भण्डारीलाई पनि नचाउनुभयो । खानेपानी उदघाटन समारोहमा बृद्धबृद्धा, युवायुवती, केटाकेटी समेत उपस्थित थिए ।

यो यस्तो खानेपानी आयोजना हो, जहाँ गत चैत्र महिनामा खानेपानीको ट्याङ्की भित्र शव भेटिएको थियो । खानेपानीको ट्याङ्की भित्र नै शव भेटिएपछि म्याग्दे गाउँपालिका–४, मनहरी र पिपलटारका बासिन्दाले खानेपानी पिउन छाडेका थिए । ट्याङ्की सँगै मुख्य पाइपलाइन र घरघरसम्म विस्तार भएको पाइपलाइन समेत फेर्नु पर्ने भएपछि खानेपानीको इन्टेक देखिका सबै संरचना नयाँ निर्माण गरिएको हो ।
तनहुँ–२ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको पहलमा खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयले बजेट रकमान्तर गरी मनहरी– पिपलटार खानेपानीका लागि ८० लाख रुपैयाँ हालेको थियो । कार्यान्वयनको जिम्मा पाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराले कार्यान्वयन प्रक्रियामा छिटो छरितोपना र उपभोक्ता समितिले दिन रात नभनी गरेको कामको प्रतिफल स्वरुप दुई महिनामै आयोजना सम्पन्न गरी आइतबार उदघाटन गरिएको हो ।

स्रोत साधन सम्पन्न र इच्छा शक्ति भएमा छोटो समयमा पनि ठूलो आयोजनाको काम फत्ते गर्न सकिन्छ भन्ने यो ठूलो सिकाई भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख ई.चोक प्रसाद धितालले बताउनुभयो । ‘खानेपानी आयोजना निर्माणका लागि एउटै पक्ष मात्र सवल भएर पनि हुँदैन, सरोकारवाला सबैले आ-आफ्नो भूमिका निर्वाह गर्यौं भने काम समयमै सम्पन्न गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।
मनहरी पिपलटार खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष प्रेमराज अधिकारीले खानेपानी आयोजनाबाट १ सय ३८ घरपरिवार लाभान्वित भएको बताउनुभयो । खानेपानी योजना उदघाटन गर्दै सांसद भण्डारीले खानेपानीको अभावमा आँत भिजाउन नपाएर दुःख परेको खबर पाएपछि उपभोक्ता र जनप्रतिनिधिसँगको सहकार्यमा योजना निर्माण गर्न सफल भएको बताउनुभयो ।
खानेपानी योजना उदघाटन कार्यक्रममा खानेपानी योजनाको ट्याङ्की निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय हिमनारायण कायस्थ र खानेपानीको मुहान निःशुल्क उपलब्ध गराउने दुवैलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


518 पटक हेरिएको 

