झापा : झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सर्वेक्षणको क्रममा १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये सबै घरधुरीमा चर्पी बनाएर प्रयोगमा आएपछि झापालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि शुक्रबार झापालाई खुला दिसामुक्त घोषणा गरिएको हो। खुला दिसामुक्त घोषणा भएका जिल्ला मध्ये झापा ६२ औँ जिल्ला हो ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष मनोज घिमिरे, युएन ह्याबिट्याटका व्यवस्थापक सुधा श्रेष्ठ र प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख डा। शिवमाया तुम्वाहाङफेले खुला दिसामुक्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यसअघि पटक पटक मिति तय भए पनि स्थानीय तह खुला दिसामुक्त घोषणा हुन नसकेका कारण कार्यक्रम स्थगित हुँदै आएको थियो । मंसिर २७ गते मेचीनगर र हल्दिबारी एकै दिन खुला दिसामुक्त घोषणा सँगै झापाका सम्पूर्ण स्थानीय तह खुला दिसामुक्त घोषणा भएका थिए ।
घोषणा समारोहमा झापाका सबै स्थानीय तहबाट सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकारहरु राजा राजेन्द्र र टिका भण्डारीबाट गीत र प्रहसन प्रस्तुत गरिएको थियो । सोही अवसरमा खुला दिसामुक्त अभियानका सिकाइहरुको दस्ताबेज सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा खुला दिसामुक्त अभियानमा सहयोग गर्ने विभिन्न व्यक्ति र क्षेत्रलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । घोषणा सभामा सञ्चारमाध्यमतर्फ विवेचना दैनिकका सम्पादक हिमाल खरेल, नयाँ पत्रिका दैनिकका सम्वाददाता लक्ष्मी काफ्ले, अन्नपूर्ण पोस्ट दैनिकका सम्वाददाता रविन भट्टराई र राधा खनाल तथा निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्लेलाई सम्मान गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट अभियान संयोजकका रुपमा सोमनाथ आचार्य, एरिया संयोजकमा गुलाम मोहम्मद शेख, सरसफाइ प्रज्वलकमा नमिता बस्नेत काफ्ले, सुरक्षा निकायतर्फ बनियानीका प्रहरी नायव निरीक्षक उदय शमशेर राणा, जनप्रतिनिधिमा झापा ४ का वडा अध्यक्ष राजु भारती, मेचीनगर १० की वडा सदस्य धिराकुमारी लिम्बू सम्मानित भएका छन् ।
त्यस्तै, अथक अभियानकर्ताका रुपमा खानेपानी डिभिजनका फोकल पर्सन रुद्रबहादुर न्यौपाने, सरसफाइ योद्धाका रुपमा ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमका झापा संयोजक विनोद शर्मा र जिल्ला समन्वय सदस्यहरुमध्ये निरन्तर अनुगमनमा सक्रिय बाबुराम कार्कीलाई सम्मानपत्र प्रदान गरियो ।

साविक सचिवहरु र सम्मान साझेदार संस्थाहरुलाई समेत सम्मान गरिएको थियो । उनीहरु सबैलाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान गर्नुभयो ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुम्वाहाङ्फे र नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले शुभकामना मन्तव्य राखेका थिए ।


1392 पटक हेरिएको 

