दैलेख १६ वैशाख । ‘माटोले सिनित्त पोतेको आँगन, आँगनको एउटा कुनामा भाँडा माझ्ने जुठेल्ना र भाँडा सुकाउने चाङ, घर नजिकै चर्पी र ढोकैमा चर्पी जाँदा लगाउने चप्पल पनि, अनि नजिकै हात धुने साबुन र ड्रम’ दैलेखको गोगनपानी गाविसको वडा नं. ४ को हरेक घरमै यस्तो व्यवस्था गरिएको हुन्छ ।
यत्तिमात्र होइन अधिकांश घरमा भाँडा माझेको पानीलाई पनि प्लाष्टिकको सानो पोखरी बनाएर जम्मा गरेको हुन्छ । अनि तिनै पानीको सहायताले करेसाबारीमा तरकारी फलाएको हुन्छ ।
गोगनपानीमा मात्र होइन, यस्तो दृश्य पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका र पूर्ण सरसफाइ घोषणा भईसकेका जुनसुकै गाविस तथा वडामा देख्न सकिन्छ ।
‘सुरक्षित चर्पीको प्रयोग, सुरक्षित पानीको प्रयोग तथा भण्डारण, साबुन पानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाइ, सुरक्षित खानाको सेवन तथा भण्डारण, सफा घर आँगन र सफा तथा स्वच्छ वातावरण’ पूर्ण सरसफाइ घोषणा गर्नु अघि हुनुपर्ने न्यूनतम आधार हो ।
खुल्ला दिसामुक्त घोषणा भएका वडा तथा गाविसलाइ पूर्ण सरसफाइका लागि विभिन्न संघसंस्थाको समन्वयमा गाविस तथा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले सञ्चालन गरेका स्वच्छता प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुबाट ५ प्लस १ सूचक पूरा भएपछि मात्र पूर्ण सरसफाइ घोषणा गरिन्छ ।
यसरी हुन्छ पूर्ण सरसफाइ
खुल्ला दिसामुक्त घोषणा भईसकेका वडा तथा गाविसमा यो अभियान शुरु गरिन्छ । यो अभियान अन्तर्गत शुरुमा हरेक घरमा कुन कुन सूचक पूरा भएका छन् भनेर गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अवलोकन गरी घरघरमा नीलो स्टीकर टाँस गरिन्छ ।
जहाँ पाँच वटै सूचक लेखिएको हुन्छ । सूचक पूरा गरेको आधारमा घरधनीले नै स्टीकरमा टीक लगाउने व्यवस्था मिलाएको हुन्छ र सबै सूचक पूरा गरेपछि गाविस स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति (भीवाससीसी) ले अनुगमन गरी हरियो स्टीकर दिइन्छ ।
हरियो स्टीकर पाएको घर पूर्ण सरसफाइका लागि योग्य मानिन्छ । कुनै वडा वा वस्तीका सबै घरधुरीले हरियो स्टीकर पाएपछि मात्र त्यो गाविसको वडा वा वस्ती पूर्ण सरसफाइका लागि योग्य हुन्छ । त्यसपछि गाविस स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले प्रमाणीकरण गरेपछि मात्र वडा वा वस्तीलाई पूर्ण सरसफाइ वडा वा वस्ती घोषणा गरिन्छ ।
पूर्ण सरसफाईका लागि सबै शक्ति परिचालन
आफ्नो गाउँ तथा वडालाई पूर्ण सरसफाइ घोषणा गर्न प्रतिस्पर्धा जस्तै हुने गरेको छ । गाउँलाई पूर्ण सरसफाइ घोषणाका लागि राजनीतिक दलका प्रतिनिधि, खानेपानी उपभोक्ता समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयं सेविका तथा विभिन्न संघसंस्था परिचालित भएका छन् ।
अछामको वीरपथ गाविसमा त महिला स्वास्थ्य स्वयं सेविका जानकी शाही र भाना विकले महिनाको दुई दिन दुई घण्टाको दरले गाउँभरिका महिलालाई भेला गराएर पूर्ण सरसफाइ र स्वच्छता सम्बन्धी कक्षा नै सञ्चालन गर्नुहुन्छ ।
जहाँ स्वच्छता र सरसफाइ सम्बन्धी खुलेर छलफल हुन्छ र आ –आफ्नो तर्फबाट सरसफाइ प्रवद्र्धनका लागि प्रतिबद्धता जनाइन्छ । महिला स्वास्थ्य स्वयं सेविकाका लागि सहयोगी पुस्तिका र फ्लिप चार्टको व्यवस्था हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमले मिलाएको ग्रामीण विकास केन्द्र (रुडेक) नेपालका सामुदायिक सहजकर्ता मेघराज पाण्डेले जानकारी दिनुभयो ।
साधारण लेखपढ गर्न जान्ने महिलाले पनि सरसफाइ स्वच्छता कक्षामा छलफल गरेको विषयलाई घरघरमा गएर व्यवहारमा प्रयोग गरेको स्वास्थ्य स्वयं सेविका जानकी शाहीले बताउनुभयो ।
सूचक पूरा भए नभएको यसरी जाँच गर्ने
सूचक नं १ : पूर्ण सरसफाइको लागि आवश्यक पहिलो सूचक हो, चर्पीको सुरक्षित प्रयोग । यो सूचक पूरा गर्नका लागि चर्पी भएर मात्र पुग्दैन । परिवारका सबै सदस्यले चर्पीमा मात्र दिसापिसाव गरेको र नियमित सफा गरेको हुनुपर्छ ।
चर्पी जाँदा लगाउने बेग्लै चप्पल र चर्पीमा गएपछि सफा गर्न साबुन पानीको व्यवस्था पनि मिलाएको हुनुपर्छ । वडा नागरिक मन्च गोगनपानी ४ की संयोजक रुपा थापा मगर भन्नुहुन्छ ‘चर्पीको नियमित प्रयोग गरी चर्पी गएपछि साबुन पानीले हातखुट्टा धुने गरेमा चर्पीको सुरक्षित प्रयोग भएको मानिन्छ ।’
सूचक नं. २, पूर्ण सरसफाइका लागि आवश्यक दोस्रो सूचक हो, खानेपानीको सुरक्षित प्रयोग । यसका लागि पानीको मुहानदेखि मुखमा पु¥याउँदा सम्म सुरक्षित हुनुपर्छ । पानी सुरक्षित बनाउनका लागि मुहानको संरक्षण, वितरण प्रणालीमा सुधार, पानीको सुरक्षित भण्डारण र पानीको शुद्धीकरण गरेको हुनुपर्छ ।
उमालेर, फिल्टर गरेर, सोडिस गरेर वा क्लोरिनेशन गरेर पानीलाई शुद्धीकरण गर्न सकिन्छ । पानी शुद्धीकरण गर्ने विधिका बारेमा थाहा पाएपछि दैलेखको गोगनपानी तथा अछामको वीरपथ, चाल्सा लगायतको गाविसमा घरघरै फिल्टरको व्यवस्था गरिएको छ ।
सूचक नं. ३, सुरक्षित पानीको प्रयोगपछि अर्को सूचक हो, साबुनपानीले हात धुने बानी र व्यक्तिगत सरसफाइ । ‘चर्पीको प्रयोग गरेपछि, कुनै फोहोर वा विषादी छोएपछि, खाना बनाउनु, खुवाउनु र खानु अघि एवं विरामी तथा बच्चाको स्याहार गर्नु अघि र पछि अनिवार्य साबुन पानीले हात धुने बानीको विकास भएको हुनुपर्छ ।’
हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रम (वार्म पी) का कार्यक्रम व्यवस्थापक मदनराज भट्ट भन्नुहुन्छ ‘व्यक्तिगत सरसफाइमा नियमित नुहाइधुवाई र कपडाको सरसफाइ पनि भएको हुनुपर्छ ।’
सूचक नं. ४, पूर्ण सरसफाइका लागि आवश्यक चौथो सूचक हो, सुरक्षित भान्छा तथा खानेकुरा । यो सूचक पूरा गर्नका लागि खाना पकाउने र खाने ठाउँ अर्थात भान्छा कोठा सफा राख्नुपर्छ । पकाएको र नपकाएको खानेकुरालाई छुट्टाछुट्टै राख्नुपर्छ, खाना राम्ररी पकाउने र पकाएको खाना छोपेर पनि राख्नुपर्छ, खाना पकाउदा सुरक्षित पानी र खाद्य वस्तुको मात्र प्रयोग गर्नुपर्छ ।’
सूचक नं. ५, पाँचौं सूचक हो सफा घर आँगन । यसका लागि पशु चौपायाका लागि छुट्टै गोठको व्यवस्था गर्नुपर्छ, पशुको मलमूत्र र फोहोर सही तरिकाले विसर्जन गरेको हुनुपर्छ भने घर आँगनको सधैं सफा गर्नुपर्छ ।
हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रम (वार्म पी) सञ्चालन भएका दैलेख र अछामका विभिन्न गाविसमा हरेक घरमा भाँडा धुने जुठेल्ना र भाँडा सुकाउने चाङको व्यवस्था गरिएको छ भने फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै खाल्डोको व्यवस्था मिलाएको छ ।
घरबाट निस्कने फोहोरपानीलाई समेत व्यवस्थापनका लागि प्लाष्टिक पोखरी बनाई जम्मा गरेर त्यहीबाट तरकारीलाई सिचाई गर्ने प्रबन्ध मिलाएको छ ।
सूचक नं. ६, पूर्ण सरसफाइका लागि आवश्यक छैटौं सूचक हो सफा वातावरण । यो सूचक पूरा गर्ने दायित्व समाजका हरेक अंगको हुन्छ । बाटोघाटो,चौतारा, पूलपूलेसा, खोला नदी सबै सफा भएमा मात्र सफा वातावरण हुने भएकाले समाजका हरेक व्यक्तिको समान दायित्व हुन्छ ।
यसका लागि गाउँलाई खुल्ला दिसामुक्त बनाईराख्नुपर्छ, बाटोघाटो, चौतारा तथा अन्य सार्वजनिक स्थलको सरसफाइ गर्नुपर्छ, पानीको मुहानको संरक्षण गर्दै सुरक्षित वितरण प्रणालीको व्यवस्था गर्नुपर्छ भने गाउँमा उत्पादन हुने फोहोरमैलाको विसर्जनका लागि डम्पिङ साईटको समेत व्यवस्था भएको हुनुपर्छ ।
सुरक्षित खानेपानीले रोगमा कमी
अछामको बीरपथ, चाल्सा लगायतका गाविसमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका छन् । बीरपथको वडा नं. २, ३, ५ र चाल्साको वडा नं. ३, ७ र ९ मा त महिला स्वास्थ्य स्वयं सेविकाले सरसफाइ स्वच्छता कक्षा पनि सञ्चालन गरिरहेका छन् ।
पूर्ण सरसफाइ अभियान र सरसफाइ स्वच्छता कक्षा सञ्चालन भईरहेका वडा तथा गाउँ विकास समितिमा सुरक्षित खानेपानीको प्रयोग मात्र भईरहेको छ । अछामको बीरपथ तथा चाल्साका कतिपय वडाको हरेक घरघरमै सुरक्षित खानेपानीका लागि फिल्टरको व्यवस्था गरिएको छ ।
सुरक्षित खानेपानीको मात्र सेवन गर्न थालेपछि पानीबाट लाग्ने रोगमा कमी आएको वीरपथ गाविसकी महिला स्वास्थ्य स्वयं सेविका भाना विकले बताउनुभयो ।
‘पोहोर सालतिर झाडापखाला लागेका बालबालिकालाई जीवनजल पु¥याउँदामै हैरान हुन्थ्यो यसपाली त झाडापखाला लाग्यो भन्ने बालबालिका नै भेटिएन, सुरक्षित पानीको सेवनकै कारण हुनसक्छ ।’ उहाँले भन्नुभयो । पखाला लाग्ने, पेट दुख्ने, आउँ तथा मासी पर्ने जस्ता समस्या यसबर्ष नदेखिएको बीरपथकी देवका शाहीले बताउनुभयो ।