काठमाडौ १९ वैशाख । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले डेढ सय ट्यांकरमा पानी परीक्षण गरि स्टिकर टाँस गरिएको छ ।
खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपछि बोर्डले ती ट्यांकरमा स्टिकर टाँस गरेको हो ।
खानेपानी तथा सरसफाइमन्त्री जीवन बहादुर शाहीले खानेपानी ढुवानी गर्ने ट्यांकरलाई व्यवस्थापन गर्न र जनतालाई सहज हुने गरि कानूनी प्रक्रियामा ल्याउन निर्देशन दिएपछि खानेपानी व्यवस्थापन बोर्डले बैशाख ५ गते देखि पानी बोक्ने ट्यांकरमा अनिवार्य रुपमा स्टिकर प्रणाली लागू गरेको हो ।
ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परिक्षण नहुँदा जनस्वास्थ्यमा असर पारेको र जथाभावी मूल्य लिएको गुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता कायम गर्न स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको हो ।
काठमाडौं खानेपानी व्यवस्थापन बोर्डसँग अनुमति लिन र पानीको परीक्षण गर्नका करिब ३०० ट्यांकरले आवेदन दिएका छन् ।