काठमाडौ २७ वैशाख । पुतली तामाङको दुःख हिजो जस्तो थिए आज पनि उस्तै छन्, कामको बोझ पनि घटेको छैन, उहाँको आम्दानी पनि बढेको होइन, तर पनि उहाँको अनुहारमा चमक थपिएको छ । उहाँको जीवनमा खुशी ल्याइदिने एउटै मात्र साधन बनेको छ, घरसँगै जोडेर बनाएको पक्की चर्पी ।
पुतली काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८, उखुबारीकी वासिन्दा हुन् । डाँडाको टुप्पामा भूकम्पले जर्जर बनाएको दुई कोठे सानो घर छ, उहाँको । जग्गाको नाममा घर बाहिर आँगन पनि छैन । घरको बलेंसीबाट खुट्टा चिप्लियो भने सोझै ३० फीट तल पुगिन्छ ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा गैर सरकारी संस्था छिमेक समाज सेवा संस्थाले गोकर्णेश्वर नगरपालिकाको वडा नं ८ मा खुल्ला दिसामुक्त कार्यक्रम शुरु गर्दा वडा नंं ८ का धेरै घरमा चर्पी बन्न बाँकी नै थियो ।
देशका दुर्गम जिल्लाहरु खुल्ला दिसामुक्त घोषणा भएर पूर्ण सरसफाइको बाटोमा अघि बढिसक्दा पनि राजधानी जिल्लाकै नगरपालिकामा अझसम्म यस्तो स्थिति हुनु विडम्वनापूर्ण कुरा हो । यो अवस्थालाई चाँडोभन्दा चाँडो अन्त्य गर्नका लागि नगरपालिकाको वडा स्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति M-wash-cc सँगको सहकार्यमा यस वडामा सरसफाइ सम्बन्धी चेतनामूलक कार्यक्रम शुरु गरियो ।
घरभेट कार्यक्रममा अरुसँग जस्तै हामीले पुतली दिदीसँग घरमा चर्पी बनाउँदा हुने फाइदाका बारेमा चर्चा गरेका थियौं । अर्को पटक त्यहाँ पुग्दा उहाँले घरसँगै टँसाएर पक्की चर्पी बनाइसक्नुभएको रहेछ । चर्पीको उचित प्रयोग पनि भइरहेको पायौं । चर्पीले मानिसलाई रोगव्याधिबाट टाढा राख्छ, यसबाट सामाजिक प्रतिष्ठा बढ्छ, गोपनियता कायम राख्न मद्दत पु-याउँछ, रात–साँझ, पानी–झरीमा कुनै दुःख व्यहोर्नु पर्दैन भन्ने जस्ता फाइदाहरु बुझाउन सक्यो भने चर्पी बनाउने कुरामा जग्गाको अभाव, पैसाको अभाव जस्ता अनेकौं बहानाहरु नआउने रहेछन् ।
कसैले पुतलीलाई घरभन्दा त चर्पी पो नयाँ रहेछ त ? भनेर सोध्यो भने उहाँ जवाफ दिनुहुन्छ “बस्नलाई घर त छँदैछ नि, पहिले त चर्पी पो चाहिएको छ । यो बनाएपछि हामीलाई कति धेरै सजिलो भएको छ भन्ने कुरा भनी साध्य छैन ।”
देशका ३८ जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसक्दा पनि देशको राजधानीका हजारौं बासिन्दा अझसम्म पनि खुल्ला ठाउँमा दिसापिसाब गर्छन् भन्ने तथ्य आपैंmमा विडम्वनापूर्ण छ ।
पपिहा ढुङ्गेल
वास अफिसर, छिमेक समाज सेवा संस्था, काठमाडौं