अछाम : साँफेबगर नगरपालिका – ११ देवीस्थानका महिलाले छाउपडी गोठ भत्काउन थालेका छन्। महिनावारी हुँदा घरदेखि टाढाको गोठमा बस्दा महिलाको ज्यान जाने क्रम नरोकिएपछि महिलाकै नेतृत्वमा छाउगोठ भत्काउन थालिएको हो । गोठमा बस्दा धेरैले ज्यान गुमाउनुका साथै हिंसा सहनु परेकाले छाउगोठ भत्काउन थालेको देवीस्थानकी हरिना ओडले जानकारी दिनुभयो ।
छाउपडी प्रथा हटाउनका लागि संघसंस्थाले काम गर्नुभन्दा पनि महिला आफैं अग्रसर हुने बेला आएको देवीस्थानकी गायत्री धामीले बताउनुभयो । ‘गाउँका सबै महिला जम्मा भएर असुरक्षित गोठ भत्काउने सल्लाह गर्यौं, सबैको सहमति जुट्यो अनि भत्काउन थालेका हौं’ उहाँले बताउनुभयो ।
छाउगोठमा बस्ने परिवारलाई वडा कार्यालयबाट प्रदान गर्ने सबै सेवा, सुविधाबाट वञ्चित गर्ने निर्णय भएपछि धेरै महिलाले गोठ भत्काउन थालेको उहाँले बताउनुभयो । ‘जसको घरमा छाउगोठ छ, पहिले आफैंले भत्काउन सुरु गर्यौं, गाउँका सबै दिदीबहिनी छाउप्रथा हटाउन लागेका छन्।’
छाउ भएका बेला गोठमा बस्ने परिवारलाई वडा कार्यालयबाट दिने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेपछि बूढापाकाले समेत साथ दिएको वडाध्यक्ष गणेश खड्काले बताउनुभयो ।
महिनावारी हुँदा गोठमै बसेका कारण अछाममा थुप्रै महिलाले ज्यान गुमाइसकेपछि सुरु भएको छाउपडी गोठ भत्काउने अभियानले पछिल्लो समय तीव्रता पाएको छ। जिल्लाका केही गाउँमा गैरसरकारी र सरकारी क्षेत्रबाटै परियोजना सञ्चालन गरेर छाउपडी गोठ भत्काउँदा त्यति सफल नभएको यो अभियानमा महिलाले स्वस्फूर्त रूपमा गोठ भत्काउन थाल्दा प्रभावकारी भएको छ।


1021 पटक हेरिएको 

