अस्पतालमा जन्मिएका शिशुको सालनालले दिपायल बजार दुर्गन्धित

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुर बजार अहिले दुर्गन्धित छ । सुजङ अस्पतालमा जन्मिएका शिशुको सालनाल खुला रुपमा छरिदा बजार क्षेत्र दुर्गन्धित बनेको हो । अस्पतालको फोहोर काग तथा कुकुरले टिपेर बाटोमा लैजाने गरेको स्थानीय सञ्जी नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो “अस्पतालले फाल्ने फोहर कहिले कुकुर त कहिले कागले टिपेर ल्याउँछन् र स्थानीयवासीको खानेपानीमा फालिदिन्छन्, त्यही पानी मान्छेले खाँदा रोग त पक्कै लाग्छ होला ।” बाटोभरि फोहर फालिएको र रोग फैलिने सम्भावना रहेको भन्ने जानकारी पाएपछि सो क्षेत्रमा काम गरिरहेको एफएमडिसीद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाको सहजीकरणमा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा पत्रकारहरुले स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा सेफ्टी ट्याङ्की खोल्ने गरेको, अस्पतालमा निस्कने फोहर व्यवस्थापन नभएको, सोझै खोलामा दिसापिसाब मिसाउने गरेको भेटिएको छ । राजपुरस्थित शहीद स्मृति आवासीय विद्यालय, सुजङ बोर्डिङ स्कूल, सुजङ अस्पताल, रातामाटी, मगरटोल, फेमिली टोल लगायतमा सरसफाइको अवस्थाबारे अनुगमन गरिएको थियो ।

वडा सदस्य दिलबहादुर कठायतले भन्नुभयो “अस्पतालको फोहर फाल्ने डम्पिङ साइट खुला हुँदा कुकुर, कागले फोहर ल्याउने गरेको र स्कूलबाट पनि ढल फाल्ने गरेको अनुगमनका क्रममा पायौं, सरोकारवालालाई सम्झाएर फर्किएका छौँ ।” अनुगमन टोलीलाई सरोकारवालाले सरसफाइ गर्ने प्रतिबद्धता गरेका छन् ।

अनुगमन टोलीसँग सुजङ अस्पताल पछाडि रहेको रातामाटीका बासिन्दाले अस्पतालको फोहरबारे चर्को आलोचना गरेका थिए । उनीहरुले अस्पतालको फोहर व्यवस्थापन नहुँदा बस्तीभरि दुर्गन्ध फैलिएको दुखेसो पोखेका थिए ।

सुजङ अस्पतालको फोहर घर नजिकै फालिने गरेको र सोही फोहर कुकुर, काग, पशुपंक्षीले घरमा पु¥याइदिने र केटाकेटीले खेल्नका लागि घरमा ल्याउने गरेको स्थानीय पार्वती बोहराकोे आरोप छ । तरसुजङ अस्पतालले भने आफूहरुको अस्पतालबाट निस्किएको फोहोर स्थानीयको घर, बाटोमा नफालेको र उडेर वा अरु कुनै माध्यमबाट गएको हुनसक्ने दावी गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार