खानेपानी मन्त्रालयमा नयाँ सचिवको पदबहाली, प्रोजेक्ट बैंक बनाएर अघि बढ्ने प्रतिबद्धता

काठमाडौ : खानेपानी मन्त्रालयमा नयाँ सचिवका रुपमा दिपेन्द्रनाथ शर्माले पद बहाली गर्नुभएको छ । यस अघि सहरी विकास मन्त्रालयको सफल नेतृत्व गरिसक्नुभएका सचिव शर्मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा हुनुहुन्थ्यो । खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरलाई हटाएपछि सचिव शर्मालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।


खानेपानी क्षेत्र खुसी


खानेपानी मन्त्रालयमा सचिव शर्माको आगमनले खानेपानी तथा सरसफाइको क्षेत्रमा सुधार आउने खानेपानी क्षेत्रले आशा गरेको छ । सचिव शर्मा स्वच्छ छविको रुपमा परिचित हुनुहुन्छ । ‘उहाँले इन्जिनियरहरुको कामको कदर गर्नुहुन्छ, उहाँले खानेपानी क्षेत्रलाई सही बाटोमा लैजानुहुन्छ त्यो दक्षता उहाँमा छ’ नेपाल इञ्जिनियर एसोसियसन् प्रदेश नं. ३ का सभापति एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका कामु सुपरिटेन्डेन्ट इन्जिनियर नन्द बञ्जाडेले भन्नुभयो ।


यसअघि जिम्मेवारी विहीन रहेका सह सचिवहरुलाई समेत जिम्मेवारी प्रदान गरी मन्त्रालयलाई सही बाटोमा डो-याउने खानेपानी क्षेत्रले आशा गरेको छ । यसअघिका सचिव ठाकुले चार जना सहसचिवहरुलाई जिम्मेवारी नदिई राखेका थिए ।


पद बहाली कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव तेजराज भट्ट, राजनराज पाण्डे, शंकर सुवेदी, पिआईडी, मेलम्ची खानेपानी आयोजना तथा केयूकेयलका कार्यकारी निर्देशक लगायत उपस्थित हुनुहुन्थ्यो ।


प्रोजेक्ट बैंक बनाएर अघि बढ्छु, सबैले साथ दिनुपर्छ : सचिव शर्मा


पदभार ग्रहण गर्दै खानेपानी सचिव दिपेन्द्रनाथ शर्माले खानेपानी क्षेत्र ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले सबैले मिलेर यसक्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म प्रोजेक्ट बैंक नहुँदा खानेपानी क्षेत्रमा खासै उन्नति नभएको भन्दै अब प्रोजेक्ट बैंक बनाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले यो कार्यमा आफूलाई सबै क्षेत्रको सहयोगको खाँचो रहेको भन्दै मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।


अहिलेसम्म ८८ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको र २० प्रतिशत जनताले मात्र गुणस्तरयुक्त पानी उपभोग गर्न पाएको तथ्यांक छ । यस्तै प्रशोधन सहितको ढल प्रणालीमा काम सुरु गर्नै बाँकी छ ।


मेलम्ची खानेपानीको बिषयमा भने उहाँले कन्ट्रयाक्ट म्यानेज्मेन्टको काममा सचिव तथा मन्त्रीको संलग्नता हुन नहुने स्पष्ट पार्नुभयो । ‘सचिव तथा मन्त्रीको काम नीतिगत तहमा हुनुपर्ने भएपनि ठेक्काको म्यानेज्मेन्टमै संलग्नता गराइयो, यो उचित होइन अझ प्रधानमन्त्री समेतलाई तानियो जो गलत थियो, सचिव र मन्त्रीहरू नीतिगत तहमा रहेर काम गर्ने हो प्रत्यक्ष कार्यान्वयन आयोजना प्रमूखहरूको जिम्मेवारी हो।’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार