
काठमाडौ : खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको छ । महिनावारी हुँदा भोग्नुपरेको समस्या सम्बन्धी जनचेतना जगाउने र महिनावारी सम्बन्धी गलत धारणालाई परिवर्तन गर्न अभियान सञ्चालन गर्ने उद्देश्यले प्रियंका दम्पतीलाई महिनावारी स्वच्छता दूत नियुक्त गरिएको हो ।
मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठ बीच भएको सहमति अनुसार उहाँहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो ।
खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गर्नुभयो । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको जनाएको छ । मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिनुभयो ।
महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय विश्वस्त रहेको मन्त्रालयका खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले बताउनुभयो ।
अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् । उनीहरुले ६ वटा महिलामैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटरी प्याड प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्की र जोशीलाई वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले अभियानकर्मी नियुक्त गरेको थियो ।


2314 पटक हेरिएको 

