खानेपानी मन्त्रालयका सिडिइद्वारा नक्कली प्रमाणपत्र पेश गरेर सरकारी लाभ लिएको पुष्टि, विशेष अदालतमा आरोप पत्र दायर

काठमाडौ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत मोतिउर रहमानले नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेर खानेपानी मन्त्रालयको सि.डि.ई. पदमा बढुवा समेत भएको पुष्टि भएको छ ।

मोतिउर रहमान समेतका इन्जिनियरले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जेष्ठता र कार्यक्षमताको आधारमा बढुवा भएको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट यस्तो तथ्य भेटिएको हो ।

तत्कालीन शहरी विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल निकास विभाग, पानीपोखरी काठमाडौंको मातहतमा विभिन्न जिल्लाको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा काम गरिसकेका मोतिउर रहमानले The Controller of Examination, University of Allahabad उत्तर प्रदेश, भारतबाट प्राप्त बि.ई. इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी खानेपानी तथा सरसफाइ मन्त्रालयको सि.डि.ई.पदमा बढुवा समेत भएको र सरकारी लाभ सुविधा लिएको पुष्टि भएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाका अनुसार उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहरिएको सहायक प्रवक्त कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार