खानेपानी आयोजनाको दीर्घकालीन प्रबद्र्धनका लागि आयोजना व्यवस्थापन एकाइ र शारदा नगरपालिका बीच समझदारी

काठमाडौ : खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना व्यवस्थापन एकाई र सल्यानको शारदा नगरपालिका बीच समुदायद्वारा सञ्चालित खानेपानी आयोजनाको दिर्घकालीन दिगोपना प्रबद्र्धनका लागि नगरपालिका स्तरीय ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना भाग – २ सञ्चालनका लागि समझदारी भएको छ ।

समझदारी पत्रमा खानेपानी मन्त्रालयका सहसचिव एवं आयोजना निर्देशक मनोज कुमार घिमिरे र शारदा नगरपालिकाको तर्फबाट मेयर सुरेश अधिकारीले हस्ताक्षर गर्नुभयो ।

 

समझदारी अनुसार अब आयोजना व्यवस्थापन एकाईले उपभोक्ता समितिको योजना तर्जुमा, समन्वय र व्यवस्थापनमा नगरपालिकाको भूमिका हुने र यसका लागि नगरपालिकाले आयोजनाका लागि पूर्ण सहयोग गर्नुपर्ने र विस्तारै स्वमित्व लिनुपर्नेछ ।

यस्तै आयोजनाले समुदायद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ योजनाको दिर्घकालीन दिगोपना प्रबद्र्धनका क्रियाकलापहरुको माध्यमबाट स्थानीय संस्थाहरुलाई सवल बनाउनुपर्नेछ ।

आयोजनाद्वारा तयार गरिने अनुदान प्राप्त गर्ने मापदण्ड र उपभोक्ता संस्थाको स्तरीकरण गर्ने मापदण्ड नगरपालिकाले स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेछ । यसले गर्दा समुदायद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको राम्रो व्यवस्थापन गरी सेवा प्रवाह गर्ने संस्थाहरुलाई अनुदान दिने व्यवस्था हुनेछ ।

विश्व बैंकको सहयोगमा सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना, भाग २, सुनसरी, दोलखा, र सल्यान जिल्लाका ६ वटा नगरपालिकामा नमूनाका रूपमा कार्यान्वयन भैरहेको छ ।

आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले खानेपानी मन्त्रालय अन्तर्गत रहेको आयोजना व्यवस्थापन एकाइका आयोजना निर्देशक मनोज घिमिरे र कर्णाली प्रदेश, सल्यान जिल्ला अवस्थित शारदा नगरपालिकाका मेयर सुरेश आधिकारी बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा, समुदायद्वारा सञ्चालित खानेपानी आयोजनाको दीर्घकालीन दिगोपना प्रवद्र्धनका लागि नगरपालिका स्तरीय ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना भाग( २, मा नगरपालिका र आयोजना व्यवस्थापन एकाइको भूमिका र जिम्मेवारीहरू उल्लेख गरिएको छ ।

के हो ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना भाग – २ ? 

खानेपानी मन्त्रालयले विश्व बैंकको सहयोगमा यो “प्रोजेक्ट” कार्यान्वयन गरिरहेको छ । यस “प्रोजेक्ट”को उद्धेश्य “नगरपालिका” भित्र रहेका समुदायद्वारा सञ्चालित खानेपानी स्किमका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूूको सवलीकरण गरी खानेपानी स्किमहरूको दीर्घकालीन दिगोपना प्रवद्र्धन गर्नु हो । यो प्रोजेक्ट खानेपानी मन्त्रालय अन्तर्गत स्थापित “पीएमयू” द्वारा व्यवस्थापन तथा कार्यान्वयन भइ रहेको छ ।

राज्य पुनर्संरचना अनुसार जिल्ला तथा जिल्ला स्तरीय संस्थाहरू जस्तै जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिको भूमिका गौण हुदै गएको छ भने पालिकाहरू स्थानीय सरकारको रूपमा स्थापित भइ रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय समुदायहरूलाई खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाहरूको वितरण गर्ने मुख्य भूमिका स्थानीय सरकारको हुने व्यवस्था गरेको छ । यो प्रोजेक्टले पनि नयाँ संघीय संरचनालाई आत्मसात गरेको छ ।

यो आयोजनाको उद्देश्य नमुनाको रूपमा छनौट गरिएका सुनसरी, दोलखा, लमजुङ र सल्यानका ६ नगरपालिकाहरूमा संस्थागत प्रबन्ध गर्ने, र समुदायद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरूको लागि दीर्घकालीन सहयोग संयन्त्र तयारीका लागि क्षमता अभिबृद्धि गर्ने रहेको छ ।

समझदारीको पूर्ण पाठ हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

MOU_PMU-SharadaMunicipality

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार