सार्वजनिक शौचालय : महिलाका लागि असुरक्षित, अपर्याप्त र अस्वच्छ

काठमाडौ : काठमाडौ उपत्यकाका सार्वजनिक शौचालयहरु महिलाका लागि असुरक्षित, अस्वच्छ र आवश्यकता पूरा गर्न अपर्याप्त रहेको देखाएको छ । गुठीले गरेको ‘महिलामैत्री सार्वजनिक शौचालयको सर्वेक्षण’ ले यस्तो नतिजा निकालेको हो ।

गुठीले हालै काठमाडौ र ललितपुर महानगरपालिका, मध्यपुर ठिमी नगरपालिका र किर्तिपुर नगरपालिकाभित्रका सार्वजनिक शौचालयको सर्वेक्षण गरेको हो । सर्वेक्षणबाट हरेक ३ जना पुरुष प्रयोगकर्ताले शौचालय प्रयोग गर्दा १ जना महिलाले मात्र प्रयोग गर्ने गरेको, सार्वजनिक शौचालय प्रयोग गर्दा हुने हैरानीले खाना तथा पानी समेत नपिई बस्ने गरेको तथ्य भेटिएको गुठीका सल्लाहकार रबिनलाल श्रेष्ठले बताउनुभयो ।

काठमाडौमा आयोजित ‘सार्वजनिक शौचालय व्यवस्थापन तथा सञ्चालन कार्यविधि सम्बन्धी अन्तरक्रिया’ मा सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सार्वजनिक शौचालयमा महिलाको पहुँच नहुँदा महिलाहरुको हिडडुल गर्ने क्षमतामा समेत असर परेको बताउनुभयो ।

श्रेष्ठका अनुसार काठमाडौ, ललितपुर, किर्तिपुर र मध्यपुर ठिमी नगरपालिका भित्र भएका सार्वजनिक शौचालयको सही संख्या पत्ता लगाउने, शौचालयको कार्यक्षमता र कारकहरुको जाँच गर्ने, महिला र असक्त प्रयोगकर्ताको आवश्यकताको स्थितिको अन्वेषण गर्ने र कार्यक्षमता र अरु कारकको आधारमा शौचालयको श्रेणी निर्धारण गर्ने उद्देश्यले सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणमा खासगरी सुरक्षा, सञ्चालन रेखदेख र व्यवस्थापन, राम्रो आधारभूत संरचना, सञ्चालकको काम गर्ने क्षमतालाई प्रभाव पार्ने कारकहरुका बिषयमा M -water नामक अनुप्रयोग र प्रश्नावली तयार पारी सवेक्षण गरिएको थियो । यस्तै महिलाको आवश्यकता प्रति संवेदनशीलता, महिनावारी स्वच्छता व्यवस्थापन, असक्त व्यक्तिको आवश्यकता, सञ्चालकको आराम र स्वास्थ्य तथा सञ्चालकको आर्थिक अवस्था सम्बन्धी पनि अध्ययन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार