विश्व बैकका डाइरेक्टरले काभ्रेको भीर उक्लिदा…….

काभ्रेपलाञ्चोक : सीधै उकालो, मान्छे त के, बाँदर पनि लड्ला झैं ठाडो भीर । तैपनि उक्लिनै पर्ने थियो, टोलीको अगुवाई गर्दै सबैभन्दा अगाडि लाग्नुभयो, फण्ड बोर्डका कार्यकारी निर्देशक लिला प्रसाद ढकाल । उहाँलाई स्याँस्याँ गर्दै पछ्याउनुभयो, विश्व बैंकको Water Global Practice का डाइरेक्टर Steven N. Schonberger, अनि उहाँ सँगै हुनुहून्थ्यो, दक्षिण तथा पूर्वी एसिया क्षेत्रका म्यानेजर Takuya Kamata, .र जलस्रोत विज्ञ Feriha Mugisha। उहाँहरु विश्व बैंकको कार्यालय वासिङटनबाट नेपाल आउनुभएको थियो ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन गर्ने भनेपछि डाइरेक्टर Steven N. Schonberger सहितको टोलीलाई काभ्रेको तेमाल गाउँपालिका ५ सानोगिम्दीमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको अनुगमन भ्रमण गराइएको हो ।

टोलीले सानोगिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको मुहान छ्योङ छ्योङ खोलामा बनेका पूर्वाधार, रिजभ्र्वायर ट्याङ्क र घरघरमा वितरित खानेपानीको गुणस्तर बारे अनुगमन गर्यो । अनुगमन टोलीले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी र उपभोक्तासँग समेत छलफल तथा अन्तरक्रिया गर्यो ।

 

खानेपानी संरचनाको अनुगमन पछि खानेपानी उपभोक्ताहरुसँग अन्तरक्रिया गर्दै डाइरेक्टर .Steven N. Schonberger ले महिलाहरुले नेतृत्व गरेको ठाउँमा विकासको काम निक्कै सवल रुपमा अघि बढेको बताउनुभयो । उहाँले कुनै पनि योजना बन्नु मात्र ठूलो कुरा नभई त्यसको सदुपयोग कसरी हुन्छ त्यो महत्वपूर्ण हुने बताउनुभयो । योजना, खानेपानीको भएपनि यसले महिलाको कार्यबोझ घटाउने र बालबालिकाको शिक्षामा सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।

खानेपानीको हाहाकार भएको गाउँमा खानेपानी उपलब्ध गराउने दाता नै आईपुगेपछि सानोगिम्दीका बासिन्दा खुसीले गदगद भए । विश्व बैंक बैंकका डाइरेक्टर नै गाउँमा आएको खबर पाएपछि गाउँभरिका मानिस भेला भए र सबैले माला र खादाले स्वागत गरे ।

खानेपानी पाएर खुसी भएका गाउँले देखेर दाता पनि मुस्कुराए । खानेपानी नभई नहुने ठाउँ पहिचान गरेर उपलब्ध गराएकोमा दाताहरु पनि भित्रैदेखि खुसी भएका थिए ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक तथा शान्ति जनआदर्श सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न खानेपानी आयोजनाबाट १२७ घरपरिवारका ९८० जना लाभान्वित भएका छन् । बुबाआमाले खानेपानीको चरम अभाव झेल्नुपरे पनि अबको सन्ततिले खानेपानीकै लागि दुःख व्यहोर्नु नपरोस् भन्ने उनीहरुको कामना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार