भुजुङ गाउँ अब पूर्ण सरसफाइ गाउँ, सरसफाइ सम्बन्धी १४ बुँदे घोषणा पत्र जारी

 

लमजुङ : लमजुङको पर्यटकीय गाउँ भुजुङ, पूर्ण सरसफाइ गाउँ बनेको छ । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङ (साविकको भुजुङ गाविस) लाई बुधबार पूर्ण सरसफाइ गाउँ घोषणा गरिएको हो ।

सरसफाईका ६ वटा सूचक पूरा गरेपछि गाउँको बीचमा रहेको ठाँटीमा धुमधामका साथ नाचगान गरी पूर्ण सरसफाइ गाउँ घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले सरसफाइलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

सरसफाइ गाउँ घोषणा कार्यक्रममा क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले  गाउँपालिकाले वातावरणीय सरसफाइमा चासो दिएको र योजनाका साथ अघि बढेको बताउनुभयो । यस्तै एक्याप केन्द्रीय आयोजना प्रमुख राजकुमार गुरुङले पर्यटन प्रवद्र्धनका लागि सरसफाइको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले एक्याप क्षेत्रका गाउँहरुमा सरसफाइ अभियान सञ्चालन गरेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले गाउँलाई सरसफाइ गरेर चिटिक्क बनाउन निरन्तर लाग्नुपर्ने बताउनुभयो ।सुआहारा कार्यक्रमका वातावरण अधिकृत रोशन चौलागाइँले भने मानिसलाई निरोगी बनाउन वातावरण र खाना दुवै सफा हुनुपर्ने बताउनुभयो ।

वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं वडाअध्यक्ष खिमबहादुर गुरुङले व्यक्तिगत तथा वातावरणीय सरसफाइमा गाउँले जुटेको बताउनुभयो ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँमा स्थानीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सफा र स्वच्छ घर अभियान सञ्चालन गरेको हो ।

अभियान अन्तर्गत भुजुङमा रहेका करीब ४ सय घरमा सरसफाइका सूचक पूरा भएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताउनुभयो । उहाँका अनुसार सरसफाइका सूचक अनुसार स्थानीयले शौचालयको प्रयोग, सावुनपानीले हात धुने बानी, सरसफाइयुक्त खाना, स्वच्छ पिउने पानी, घरआँगनको सरसफाइ र वातावरणीय सरसफाइमा ध्यान दिएका छन् ।

गाउँपालिकाको २ वडा यसअघि नै पूर्ण सरसफाइ गाउँ बनिसेकको छ । खानेपानी तथा सरसफाइ इकाई कार्यालय लम्जुङका प्रमुख बामदेव पौडेलले जिल्लामा सरसफाइको अभियानलाई तीब्र पारिएको बताउनुभयो ।

सरसफाइ सम्बन्धी १४ बुँदे घोषणा पत्रलाई निरन्तरता दिएमा ब्यक्ति र समुदाय सधैं सफा रहिरहने उहाँले बताउनुभयो ।

लमजुङमा क्व्होलासोंथर गाउँपालिकाका ३ र मस्र्याङदी गाउँपालिकाका एउटा वडा पूर्ण सरसफाई वडा घोषणा भइसकेको छ । जिल्लामा ७५ वटा वडा रहेकोमा अन्य वडामा सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार