सर्लाही : सर्लाहीका उत्साहित युवाहरुले पूर्व – पश्चिम राजमार्ग सरसफाइ अभियान थालेका छन् । सर्लाहीको लालबन्दी नगरपालिकाको राजमार्ग क्षेत्र सफाई गर्दै युवाहरुले राजमार्ग सरसफाइ अभियान सुरु गरेका हुन् ।
सिरहाका सरसफाइ भियन्ता धिरेन्द्र कुमार साहको आव्हान तथा सक्रियतामा दर्जनौं युवाहरु हातमा पञ्जा लगाएर सडक किनारका फोहोर व्यवस्थापन गर्न जुटेका थिए ।
निजी तथा सार्वजनिक यातायातका यात्रुहरुले फालेका पानीका बोतल, चाउचाउ, कुरकुरे, गुट्काका खोलहरु संकलन गरेर युवाहरुले व्यवस्थापन गरेका छन् । जंगल क्षेत्र सुनसान भएकाले यात्रुहरुले गाडीबाट सीधै फोहोर फाल्दा राजमार्ग कुरुप र अशोभनिय बन्दै गएको छ ।
राजमार्ग सरसफाइ अभिायनले पर्यटन प्रबद्र्धन अभियानमा पनि सहयोग पुग्ने सरसफाइमा खटिएका युवाहरुले बताएका छन् । प्रदेश नं २ सरकारले तराई – मधेश भ्रमण गरौं भन्ने पर्यटन अभियान पनि थालेको छ ।
जनज्योति माध्यमिक बिद्यालयका बालबालिका, नेपाल प्रहरी, लक्ष्मी खरेल, ललिता कुमारी खड़का, गीता बि.क., देवी कार्की लगायत समाजिक अभियन्ताहरूले राजमार्ग सरसफाइ गर्नुभएको थियो ।