काठमाडौ : नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७५ सुरु भएको छ । जल तथा मौसम सप्ताहको उर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै उर्जा जल श्रोत तथा सिंचाइमन्त्री पुनले जलश्रोतका बहुउद्देश्यीय योजनाहरुलाई समेटेर दिगोरुपमा अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । तराईक्षेत्रमा मात्र सिमित नभएर पहाडी क्षेत्रमा समेत कृषिको विकास गर्न सिंचाइलाई प्रबर्धन गर्न जरुरी रहेको र सरकारले लिफ्टिङ प्रविधिको प्रयोग गरेर भुमिगत पानीलाई प्रयोगमा ल्याउन काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सतर्कता केन्द्रका सचिब माधव बेल्बासेले यस बर्षाको नारा कोही पनि नछुटुन्को अर्थ जलस्रोतको समाबेसी उपलब्धता हुनुपर्ने भन्दै पानी प्रसस्त भएको देखिए पनि असीमित भने नभएको बताउनुभयो ।
यस्तै पूर्वमन्त्री तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ दिपक ज्ञवालीले जलश्रोत भण्डारणको क्षमता बढाउनका लागि भूमिगत जलश्रोत, सिमसारक्षेत्र, आकाशेपानीको संकलन, पानी पोखरीको निर्माण तथा संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरी पूर्वमन्त्री गणेश शाहले स्वच्छ पानीको आवश्यकताबारे प्रकाश पार्नुभयो ।
विश्व पानी दिवस र विश्व मौसम दिवस गरी दुई अन्तर्राष्ट्रिय दिवसहरुको सन्दर्भ पारेर नेपालमा यही चैत्र ३ देखि ९ गते सम्म सप्ताह व्यापी नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह मनाउन सुरु गरिएको हो ।
स्वच्छ पानीको महत्व तथा बदलिँदो जलवायु र स्थानीय मौसममा त्यसको असरबारे जनचेतना फैलाउने तथा जलश्रोत र त्यसको दिगो व्यवस्थापनबारे सर्वसाधारण देखि नीतिनिर्माता सम्मको ध्यानाकर्षण गराउने उद्देश्यले विश्व पानी दिवस तथा विश्व मौसम दिवस नेपालमा पनि मनाउदै आएको छ ।


2146 पटक हेरिएको 

