यसकारण किशोरीहरुलाई निशुल्क स्यानिटरी प्याड

लमजुङ : स्कुल आउँदै गर्दा बाटोमै महिनावारी भएमा बाटोबाटै घर फर्कन्थे । घरमै महिनावारी भए त स्कुल आउने कुरै भएन । विद्यालयमा आईपुगेर महिनावारी भएपनि प्रायः छात्राहरु बिदा लिएर घर फर्कन्थे । तर अहिले अवस्था फेरिएको छ । ती सबै विगत भइसकेका छन् । लम्जुङको बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ माविले छात्रालाई स्कुलमै सेनेटरी प्याडको व्यवस्था गरेपछि नियमित विद्यालय आउन थालेका छन् ।

छात्रालाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा स्यानिटरी प्याड उपलब्ध गराउन थालेको हो । प्रधानाध्यापक सीता बोहराका अनुसार स्कुलमै सेनेटरी प्याड राख्न थालेको ३/४ वर्ष भइसकेको छ । पहिलेको भन्दा अहिले अवस्था सुध्रिएको छ । महिनावारी हुँदा पनि छात्राहरु ढुक्कले पढ्छन् ।

बेंसीसहर नगरपालिका–६ चण्डीस्थानस्थित गंगामिलन माविका प्रधानाध्यापक टंकबहादुर अधिकारीका अनुसार छात्राका लागि स्कुलमा सेनेटरी प्याड राखेको ५ वर्ष भयो ।

२ जना मिसले छात्राले मागेको खण्डमा वा आवश्यकता अनुसार स्कुलमा प्याड दिने गरेको उहाँले बताउनुभयो । ‘कसले कति लग्यो भन्ने जानकारी पनि राखिएको हुन्छ । यो दुरुपयोग नहोस् भन्नका लागि हो,’ उहाँले भन्नुभयो । महिनावारीका समयमा छात्राले पढाइ छाड्न थालेपछि स्कुलमै सेनेटरी प्याडको व्यवस्था गरिएको उहाँले बताउनुभयो।

छात्रालाई स्कुलमै सेनेटरी प्याड उपलब्ध गराउन थालेपछि पहिलेको जस्तो कक्षामा आएर वा बीच बाटोबाटै छात्रा घर फर्कनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाका प्रायः माध्यमिक विद्यालयका छात्रालाई स्कुलमै सेनेटरी प्याडको व्यवस्था छ । ती विद्यालयमा गैरसरकारी संस्थाले बढी मात्रामा सहयोग गर्दै आएको छ । सेनेटरी प्याड, प्राथामिक किड बक्स लगायत सामग्री गैरसरकारी संस्थाले दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नारायण रेग्मीका अनुसार लमजुङमा ७९ मावि विद्यालय छन् । यसमा २७ विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ । १ देखि ८ सम्मका ३० वटा आधारभूत विद्यालय छन् ।

१ देखि ५ सम्मका २ सय ३८ विद्यालय छन् । निजी ४२ वटा विद्यालय छन् । यसमा २१ विद्यालयमा मावि पठनपाठन हुन्छ । निजी विद्यालय प्रायः आफैंले स्यानिटरी प्याडको व्यवस्था गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार