खुला दिसामुक्त अभियानको यात्रालाई असारभित्र टुङ्ग्याइने

काठमाडौ : विगत सात बर्षदेखि चल्दै आएको सरसफाइ अभियान असार उप्रान्त नचलाइने भएको छ । अर्थात खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई असार मसान्त सम्ममा जसरी भएपनि खुला दिसामुक्त घोषणा गर्ने भएको छ ।

खुला दिसामुक्त घोषणामा मात्र अल्झिएर बस्दा पूर्ण सरसफाइ अभियानले गति लिन नसकेपछि खुला दिसामुक्त अभियानलाई टुङ्गो लगाएर पूर्ण सरसफाइ (स्वच्छ र सफा) क्षेत्रमा अघि बढ्न सरोकारवाला सबै सहमत भएका हुन् ।

‘खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई घोषणा नगरी अगाडि बढ्ने भनेको होइन, शौचालय नबनाई घोषणा गर्ने भनेको पनि होइन, अझै निक्कै समय छ, बनाउन बाँकी सबै घरमा शौचालय बनाएर असार भित्र खुला दिसामुक्त अभियानलाई टुङ्ग्याइने भनेका हौं’ राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका एक सदस्यले भने ।

ती सदस्यका अनुसार खुला दिसामुक्त अभियान जस्तै पूर्ण सरसफाइ अभियान नचलाएसम्म सरसफाइमा राखेको दिगो विकास लक्ष्य हासिल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ । समितिका सदस्यहरुले सरसफाइ गुरुयोजना जस्तै पूर्ण सरसफाइ गुरुयोजनाको समेत आवश्यकता औल्याएका छन् ।

२०६८ सालमा सरसफाइ गुरुयोजना लागु भएपछि सञ्चालन भएको सरसफाइ अभियानबाट हालसम्म ६३ जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । अब यही चैत्रभित्रै धादिङ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको छ ।

 

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार अब १ प्रतिशत नेपालीको घरमा मात्र चर्पी बनाउन बाँकी छ । ९९ प्रतिशत नेपालीको घरमा चर्पी निर्माण भइसकेको र अब १ प्रतिशत नेपालको घरमा मात्र चर्पी बनाउन बाँकी रहेको समितिका सदस्य सचिव देबेन्द्र कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार १ प्रतिशत भनेको ५१ हजार ८३१ घर हो । ‘कुल ५३ लाख ८२ हजार ७४२ घरपरिवार मध्ये ५३ लाख ३० हजार ९११ घरमा चर्पी बनिसकेको छ, अब ५१ हजार ८३१ घरमा चर्पी बनाउने क्रम जारी छ’ उहाँले भन्नुभयो ।

ती मध्ये सबैभन्दा बढी प्रदेश नं.२ मा ३७ हजार ३ सय ४६ घरमा बनाउन बाँकी छ । प्रदेश २ को पर्सामा ९४ प्रतिशत, बारामा ८८ प्रतिशत, सर्लाहीमा ९७ प्रतिशत, महोत्तरीमा ९४ र धनुषामा ९४ प्रतिशत घरमा चर्पी निर्माण भइसकेको सदस्य सचिव झाले जानकारी दिनुभयो ।

प्रदेश १ को भोजपुर र सोलुखुम्बुको १०० प्रतिशत घरमै चर्पी बनेपनि घोषणा हुन बाँकी छ । मोरङको ९९ प्रतिशत घरमा चर्पी बनेपनि २ हजार १३८ घरमा अझै चर्पी बन्न बाँकी छ ।

यस्तै राजधानी काठमाडौ रहेको प्रदेश ३ मा १२ लाख ७५ हजार ७ सय ५ घर मध्ये ५ हजार ९७७ घरमा चर्पी बन्न बाँकी छ । सदस्य सचिव झाका अनुसार ती मध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी चर्पी बनाउनुपर्ने छ । सिन्धुपाल्चोकको ९३ प्रतिशत घरमा मात्र चर्पी बनेका छन् भने काठमाडौमा ९९ प्रतिशत घरमा चर्पी बनेका छन् ।

यस्तै प्रदेश ५ मा ६ हजार ३७० घरमा चर्पी बनाउन बाँकी छ । यी सबै चर्पी प्रदेश ५ को कपिलबस्तुमा मात्र बनाउन बाँकी छ । अन्य सबै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको कपिलबस्तुको ९३ प्रतिशत घरमा मात्र चर्पी बनेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार