काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसामुक्त घोषणा अभियानमा सहयोग पु-याउन मातहतको निकायलाई निर्देशन दिन विभिन्न मन्त्रालयलाई अनुरोध गरेको छ । समितिले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई आगामी असार मसान्त अगावै खुला दिसामुक्त गर्ने काममा सहयोग गर्न राष्ट्रिय योजना आयोगको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई अनुरोध गरेको हो ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष मनोज घिमिरेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । ‘राष्ट्रिय नीति र योजना एवं राज्यद्वारा विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा समय समयमा व्यक्त प्रतिबद्धताहरुको मर्म अनुरुप देशलाई यसै आर्थिक बर्षभित्र ओडिएफ घोषणा गर्ने कार्यमा हातेमालो गर्नु हामी सबैको सामूहिक कर्तव्य हो । तसर्थ ओडिएफ घोषणा हुन बाँकी रहेका जिल्लाहरुलाई आगामी असार महिनाको समयसीमा अगावै घोषणा गर्ने कार्यमा सहयोग र सहजीकरण गर्नका लागि आफू मातहतका सम्बन्धित निकायहरुमा पत्राचार गरी आवश्यक निर्देशन दिनुहुन राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति हार्दिक अनुरोध गर्दछ ।’
सरसफाइका क्षेत्रमा भएका प्रयासबाट सरसफाइ सुविधा र स्वस्थकर बानी व्यहोराको विस्तारसँगै हालका बर्षहरुमा झाडापखालाजन्य रोगब्याधिमा उल्लेख्य कमी आएको छ । स्वास्थ्य, प्रतिष्ठा र विकासको मूल नाराका साथ देशमा सञ्चालित सरसफाइको महान राष्ट्रि अभियानमा जिम्मेवार, दत्तचित्त, प्रतिबद्ध र क्रियाशील भई सरसफाइ मार्फत देशको चिनारी र हैसियत उच्च राख्न उल्लेख्य योगदान दिएकोमा सरसफाइ तथा स्वच्छता समन्वय समितिले हार्दिक अभाव व्यक्त गरेको छ ।
बिनाशकारी भूकम्प, र बाढी पहिरोका कारण सन् २०१७ मै देशलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य पूरा गर्न नसकको समितिले जनाएको छ । वि.सं. २०६८ साल साउन १९ गतेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेपछि लागु भएको सरसफाइ गुरुयोजनाले सबै नेपालीको घरमा चर्पीको सुविधा सुनिश्चत गरी देशलाई नै ओडिएफ गर्ने लक्ष्य लिएको छ । हालसम्म ६३ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् भने खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाहरुमा औसत ९७ प्रतिशत घरधुरीमा चर्पीको पहुँच पुगेको छ ।
अब थोरै चर्पी मात्र बनाउन बाँकी रहेकाले अबको सानो प्रयासले पनि बाँकी जिल्लाहरुले सहजै ओडिएफ को अवस्था हासिल गर्न सकिने राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष मनोज घिमिरेले जानकारी दिनुभयो ।
हेर्नुहोस् स्वच्छता समन्वय समितिलेद्वारा गरिएको पत्राचारको पूर्ण अंश :



2398 पटक हेरिएको 

